प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर राना मगरको जिप दुर्घटनामा मृत्यु

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको जिप दुर्घटनामा मृत्यु भएको छ।
स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लाबाट धनवाङतर्फ जाँदै गरेको नगरपालिकाकै नाममा रहेको लु प्र ०१–००१ झ ०००८ नम्बरको बोलेरो पिकअप जिप दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार अपराह्न करिब पौने ५ बजेतिर उपमेयर राना मगर आफैंले चलाएको जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनाका बेला जिपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ। राना मगर राष्ट्रिय जनमोर्चाबाट स्वर्गद्वारी नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





