फुञ्जो झाङ्मु लामा चुमनुब्रीको पर्यटन सद्भावना दूत घोषित

कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ।
सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँसभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
चुमनुब्री गाउँपालिकाले यस वर्षलाई मनास्लु हिमालको सफल आरोहणको ७०औँ वर्ष पूरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ। सोही अवसरमा बसेको गाउँसभाले फुञ्जोको नाम पर्यटन सद्भावना दूतका रूपमा सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष लामाले बताए।
“हाम्रो राष्ट्रको गहनाका रूपमा रहेकी फुञ्जोलाई पर्यटन सद्भावना दूत नियुक्त गरेका छौँ,” अध्यक्ष लामाले भने।
उनका अनुसार विश्वभर ख्याति कमाएकी फुञ्जोले सद्भावना दूतका रूपमा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछिन्। आफ्नो जन्मभूमिले दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै फुञ्जोले चुमनुब्री र मनास्लु क्षेत्रको पहिचान विश्वभर फैलाउन आफू सक्रिय रहने बताइन्।
“यो मेरा लागि ठूलो सम्मान हो,” उनले भनिन्, “यस क्षेत्रलाई विश्वभर प्रवर्द्धन गर्न म कुनै कसर बाँकी राख्ने छैन।”
विश्वको आठौँ अग्लो शिखर मनास्लुका अतिरिक्त चुमनुब्री गाउँपालिकाको आफ्नै अद्वितीय सांस्कृतिक तथा आध्यात्मिक परम्परा छ। अहिंसा क्षेत्र घोषणा भएको १०५ वर्ष पूरा गरेको चुमनुब्रीले अहिंसा क्षेत्रको जैविक विविधता, मौलिक पहिचान, निरन्तरता, प्रचारप्रसार र संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ‘श्याग्या परम्परा संरक्षण ऐन, २०८०’ समेत जारी गरेको थियो।
स्वीस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिमप्राप्त फुञ्जोले सन् २०२४ मा आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा सगरमाथाको शिखर चुम्दै सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गरेकी थिइन्।
चुमनुब्री गाउँपालिका ७ छोकाङपागाउँमा जन्मिएकी फुञ्जोले सगरमाथा, ल्होत्से, मनास्लु र चो ओयुका साथै आमादबलाम, लोबुचे र डेनालीलगायतका हिमालहरूको सफल आरोहण गरिसकेकी छन्।
उनी पर्वतारोहणसँगै ग्रामीण तथा सीमान्तकृत समुदायको जीविकोपार्जन, शिक्षा र दिगो विकासका क्षेत्रमा समेत सक्रिय रहँदै आएकी छन्। गाउँपालिकाले फुञ्जोको अन्तर्राष्ट्रिय पहिचान, पर्वतारोहणमा प्राप्त उपलब्धि र स्थानीय क्षेत्रप्रतिको योगदानले चुमनुब्री तथा मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





