१३ असार २०८३, शनिबार

अबको हप्ता मनसुन थप सक्रिय हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

कमजोर रहेको मनसुन अबको हप्ता थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा बढ्ने जानकारी दिएको छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले पनि केही स्थानमा भारी वर्षा भइरहेको छ। आगामी हप्ता मनसुन थप सक्रिय भई धेरै स्थानमा वर्षा हुने उनले बताए।

उनका अनुसार मंगलबारपछि केही क्षेत्रमा धेरै भारी वर्षाको समेत सम्भावना छ। आइतबार राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आइतबार राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। सोही दिन सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ।

सोमबारदेखि वर्षा थप बढ्ने विभागको पूर्वानुमान छ। सोमबार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

सोमबार कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ।

सोमबार रातिदेखि मनसुन अझ सक्रिय हुने पूर्वानुमान गरिएको छ। त्यसपछि कोशी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ। विभागले भारी वर्षा, चट्याङ, हावाहुरी र तातो लहरको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button