जनकपुरधामको होटलबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले धनुषाको मुखियापट्टि मुसहरनियाँ गाउँपालिका ४ निवासी २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका ६ सोनीगामा निवासी १८ वर्षीय सुधिर मुखियालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवका अनुसार होटलमा आज दिउँसो खाना खान आएका दुई युवकसँग हतियार रहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट एक थान पेस्तोल, त्यसको एक थान म्यागजिन, ९ एमएम केएफ लेखिएको एक थान गोली र ७.६५ एमएम केएफ लेखिएका तीन थान गोली बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





