नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीका लागि सब्सक्रिप्सनमा आधारित प्याकेज ल्याउने

नेपाल टेलिकमले भोलिदेखि प्रिपेड सेवाग्राहीका लागि सब्सक्रिप्सनमा आधारित मोडेलअन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराउने भएको छ।
सरकारको १०० दिने कार्यसूचीअन्तर्गतको डेलिभरी बेस्ड गभर्नेन्स सम्बन्धी प्रतिबद्धताअनुसार आइतबारदेखि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए।
यो व्यवस्था लागू भएपछि सेवाग्राहीले हरेक महिना वा निश्चित अवधिमा पुनः प्याकेज सब्सक्राइब गरिरहनु नपर्ने मन्त्री तिमल्सिनाले बताए। उनका अनुसार एकपटक सब्सक्रिप्सन गरेपछि प्रणालीले नै सम्बन्धित प्याकेजलाई निरन्तरता दिनेछ।
“सरकारको १०० दिने कार्यसूचीको बुँदा नं. २ अन्तर्गतको डेलिभरी बेस्ड गभर्नेन्स सम्बन्धी प्रतिबद्धताअनुसार नेपाल टेलिकमले भोलि आइतबारदेखि प्रिपेड सेवाग्राहीका लागि विभिन्न प्याकेज उपलब्ध गराउनेछ,” मन्त्री तिमल्सिनाले फेसबुकमा लेखेका छन्।
टेलिकमले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै यस मोडेलअन्तर्गत थप प्याकेजहरू पनि ल्याउने तयारी गरेको छ। यस व्यवस्थासम्बन्धी विस्तृत विवरण, शुल्क र सर्तहरू नेपाल टेलिकमले आइतबार नै औपचारिक रूपमा सार्वजनिक गर्ने मन्त्री तिमल्सिनाले जानकारी दिए।
नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीले मनपर्ने प्याकेज एकपटक सब्सक्राइब गरेपछि हरेक महिना वा निश्चित अवधिमा पुनः खरिद गर्नुपर्ने झन्झट हट्नेछ। प्रणालीले स्वतः नवीकरण गर्ने भएकाले पर्याप्त ब्यालेन्स भएमा सेवा निरन्तर रहनेछ।





