१४ असार २०८३, आईतवार

पनामालाई हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेर नकआउट चरणमा

बेलिङघम र केनको गोलमा सहज जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा पनामालाई २ का विरुद्ध ० गोलले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

न्युयोर्क न्युजर्सी स्टेडियममा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन जुड बेलिङघम र कप्तान ह्यारी केनले समान एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले लय समात्दै पाँच मिनेटको अन्तरमा दुई गोल गरेको थियो।

खेलको ६२औँ मिनेटमा बुकायो साकाको पासमा बेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए। त्यसको पाँच मिनेट नबित्दै ६७औँ मिनेटमा कप्तान केनले बेलिङघमकै पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यस गोलसँगै केन विश्वकपमा इंग्ल्यान्डका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत बनेका छन्।

खेलपछि गोलकर्ता बेलिङघमले टोलीको पहिलो लक्ष्य पूरा भएको बताए।

“हाम्रो पहिलो काम पूरा भएको छ। हामी यहाँ चरणबद्ध रूपमा अघि बढ्ने लक्ष्यका साथ आएका थियौँ। सुरुवाती खेलहरू राम्रो रह्यो र हामीले समूह विजेता बन्दै अर्को चरणमा पुग्ने पहिलो लक्ष्य हासिल गर्‍यौँ,” बेलिङघमले भने।

उनले दोस्रो हाफको प्रदर्शनले टोलीको स्तर देखाएको बताए। “हामी कुन स्तरमा छौँ र के हासिल गर्न चाहन्छौँ भन्ने कुरामा स्पष्ट छौँ, जुन दोस्रो हाफको प्रदर्शनले देखायो। हामीले हरेक दिन सुधार गर्दै जानुपर्छ र यो हाम्रै हातमा छ,” उनले थपे।

कप्तान केनको कीर्तिमानबारे बोल्दै बेलिङघमले उनको नेतृत्व र निरन्तरताको प्रशंसा गरे।

“उहाँले आफ्नो स्तरलाई लगातार माथि लैजानुभएको छ, जुन अविश्वसनीय छ। कप्तानका रूपमा उहाँले गर्ने मिहिनेत र नेतृत्व प्रशंसनीय छ। उहाँको क्षमता आफैँमा स्पष्ट छ। उहाँ उत्कृष्ट हुनुहुन्छ,” बेलिङघमले भने।

जितसँगै इंग्ल्यान्ड समूह एलको शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button