उपत्यकामा २४ घण्टामा एक हजार ९२२ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट पाँच लाख ११ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ९२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ७८ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने १२९ जना र तीव्र गतिमा सवारीसाधन चलाउने १३९ जनालाई कारबाही गरेको जनाएको छ।
यसैगरी, लेन अनुशासन पालना नगर्ने ४१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १० जना र एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० जना पनि कारबाहीमा परेका छन्।
अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार २९६ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।





