जेनजी आन्दोलनपछि एउटै मञ्चमा चार पूर्वप्रधानमन्त्री

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्री पहिलोपटक आज एउटै मञ्चमा देखिएका छन्। मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सँगै उपस्थित भएका हुन्।
मदन भण्डारीको ७५ औं जन्मोत्सवका अवसरमा फाउण्डेशनले आज काठमाडौँको राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह आयोजना गरेको हो। समारोह सुरु भइसकेको छ।
एउटै मञ्चमा चार पूर्वप्रधानमन्त्री देखिने भएपछि समारोहस्थलमा ठूलो भीड लागेको छ। आयोजक र सहभागीका अनुसार सभागृहभित्र बस्ने ठाउँ नहुँदा धेरै सहभागी बाहिरै बसेका छन्। केही सहभागी हल बाहिर पलेँटी कसेर बसेको देखिएको बताइएको छ।

समारोहस्थलमा उभिने ठाउँसमेत अभाव भएको सहभागी एक नेताले बताए। उनका अनुसार हल पूरै भरिएको छ भने बाहिर पनि भीडभाड बढिरहेको छ। मानिसहरू आउने क्रम अझै जारी रहेकाले कतिपय सहभागी हलभित्र प्रवेश गर्न नसकेको उनले जानकारी दिए।
“हल पूरै भरिएको छ। बाहिर पनि भीडभाड छ। मानिसहरू आउने क्रम अझै जारी छ। हामी त भित्र छिर्नै सकेनौं,” सहभागी नेताले भने।
जेनजी आन्दोलनपछि प्रमुख वामपन्थी धाराका नेताहरू एउटै मञ्चमा देखिएको घटनालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलन, मदन भण्डारीको योगदान र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।
समारोहमा विचार गोष्ठीसँगै पुरस्कार वितरण कार्यक्रम पनि राखिएको छ। मदन भण्डारी फाउण्डेशनले भण्डारीको जन्मोत्सवका अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।





