‘नेपाली जनक्रान्तिको अवधारणा’बारे संवाद डबलीमा अन्तरक्रिया

समाजवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।
संवाद डबली, अनामनगरमा २०८३ असार १४ गते आयोजित कार्यक्रममा विभिन्न कम्युनिस्ट तथा प्रगतिशील दलका नेता, पार्टी पंक्ति, सञ्चारकर्मी र सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला कन्चन, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शन, नेकपा मसालका प्रवक्ता राम प्रकाश पुरी, नेकपाका संगठन विभाग प्रमुख कृष्णहरि भट्ट र प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुष्पराज न्यौपाने अतिथि वक्ताका रूपमा सहभागी थिए।
अन्तरक्रियामा नेपाली जनक्रान्तिको अवधारणा, वर्तमान राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको दिशा र परिवर्तनकारी शक्तिहरूबीचको वैचारिक संवादका विषयमा छलफल भएको आयोजक पक्षले जनाएको छ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालले कार्यक्रममा सहभागी अतिथि वक्ता, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, पत्रकार र संवाद डबली परिवारप्रति आभार व्यक्त गरेको छ।

आयोजकले नेपाली राजनीतिक आन्दोलन, जनताको अधिकार, सामाजिक रूपान्तरण र क्रान्तिकारी धाराको आगामी बाटोबारे विचार आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली समाजको वर्तमान अवस्था, जनअपेक्षा, राजनीतिक नेतृत्वको भूमिका र परिवर्तनकारी आन्दोलनका चुनौतीबारे आफ्ना धारणा राखेको बताइएको छ। विभिन्न वाम तथा प्रगतिशील धाराका प्रतिनिधिको सहभागिताले कार्यक्रमलाई वैचारिक संवादको साझा मञ्चका रूपमा प्रस्तुत गरेको आयोजकको भनाइ छ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालले आगामी दिनमा पनि राष्ट्रिय राजनीति, जनजीविका, सामाजिक न्याय र परिवर्तनका एजेन्डामा वैचारिक बहसलाई निरन्तरता दिने जनाएको छ।





