वामपन्थी एकताको आवश्यकता समयले नै देखायो: खनाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी दलहरूबीच एकता अपरिहार्य भएको बताएका छन्। आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समाज रूपान्तरणका लागि देशका वामपन्थी र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए।
खनालले विगतमा नेताहरूभित्र देखिएको अहंकार, अलगाव र आन्तरिक प्रतिस्पर्धाका कारण वामपन्थी आन्दोलन कमजोर भएको टिप्पणी गरे। उनले नेताहरूमा “कहिले सिङ पलायो, कहिले जुरो पलायो” भन्ने अभिव्यक्तिमार्फत वामपन्थी दलहरूबीच एकता कायम हुन नसकेको अवस्थालाई व्यंग्यात्मक रूपमा चित्रण गरे।
“यो समाजलाई बदल्नुपर्छ। त्यसका लागि वामपन्थीहरू, यो देशका कम्युनिष्ट क्रान्तिकारीहरू, एकताबद्ध हुनैपर्छ,” खनालले भने, “तर बिचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो, कहिले अरू अरू के के पलायो पलायो। त्यो कारणले गर्दा हामी एकताबद्ध हुन सकेनौं।”
उनले अब परिस्थिति फेरिएको र समयले वामपन्थीहरूलाई पुनः एकताको दिशामा अघि बढ्न बाध्य बनाएको बताए। खनालका अनुसार वर्तमान राजनीतिक परिस्थिति, समाजको अवस्था र जनताको अपेक्षाले वाम शक्तिहरूलाई विभाजित भएर होइन, साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरिरहेको छ।
“अब समयले हामीलाई झक्झक्याउन थालेको छ, परिस्थितिले हामीलाई एउटा बाध्यताको परिस्थितिमा खडा गर्न थालेको छ,” उनले भने, “त्यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं। कमसेकम आजको विचार गोष्ठीमा हामी एकताबद्ध भयौं।”
खनालले वामपन्थी एकतालाई आजको प्रमुख राजनीतिक आवश्यकता भएको बताए। उनले कार्यक्रम हलमै सहभागीहरूलाई वामपन्थी एकताको पक्षमा नारा लगाउनसमेत आग्रह गरेका थिए।
कार्यक्रममा उनले समाज परिवर्तन, कम्युनिस्ट आन्दोलनको भूमिका र वाम शक्तिहरूबीचको सहकार्यका विषयमा धारणा राखेका थिए। खनालले विभाजन र आरोप प्रत्यारोपभन्दा माथि उठेर साझा राजनीतिक उद्देश्यका लागि अघि बढ्नुपर्नेमा जोड दिए।
उनले वामपन्थी शक्तिहरूबीचको एकता केवल दलगत स्वार्थका लागि नभई समाज परिवर्तन र जनताको अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए। उनका अनुसार विगतका कमजोरीबाट शिक्षा लिएर नयाँ परिस्थितिमा वाम शक्तिहरूले सहकार्य र एकताको बाटो रोज्नुपर्ने आवश्यकता देखिएको छ।





