आर्थिक विधेयक २०८३ प्रतिनिधिसभाबाट पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले गरेका थिए।
आर्थिक विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षका लागि प्रस्तावित कर तथा राजस्वसम्बन्धी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ। विधेयक यही साउनदेखि लागू हुनेछ।
आर्थिक विधेयक बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित कानुनी दस्तावेज हो। यसमार्फत सरकारका कर नीति, राजस्व संकलन, शुल्क, दस्तुर तथा आर्थिक व्यवस्थापनसँग सम्बन्धित प्रावधान कार्यान्वयनमा जान्छन्।
प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि सरकारले आगामी आर्थिक वर्षका आर्थिक तथा राजस्वसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने कानुनी आधार प्राप्त गरेको छ।





