कर्णालीको झोलुङ्गे पुलले टीकापुर र राजापुरलाई पर्यटनसँग जोड्यो

कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्र आन्तरिक पर्यटकको नयाँ आकर्षण केन्द्र बन्न थालेको छ।
केही दिनअघि पुलको निर्माण कार्य सम्पन्न भई आवागमन सुरु भएपछि कर्णाली नदीको विशाल प्रवाह, आसपासका फाँट र प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउनेहरूको चहलपहल बढेको हो। गर्मी छल्न साँझपख पुल क्षेत्रमा पुग्ने स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।
टीकापुर नगरपालिका ५ का किरण चौधरीले गर्मी बढेका कारण साँझको समयमा शीतलताका लागि पुल अवलोकन गर्न जाने गरेको बताए। उनका अनुसार पुल क्षेत्रमा अपेक्षा गरिएभन्दा धेरै आगन्तुक पुग्ने गरेका छन्।
पुलमा तस्बिर खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्नेहरूको संख्या पनि बढेको छ। यससँगै स्थानीय युवाहरूले फोटोग्राफीलाई आम्दानीको स्रोत बनाउन थालेका छन्।
बर्दियाका राजेश चौधरीले पहिले टीकापुर पार्क र बर्दियाको इन्टेक क्षेत्रमा फोटोग्राफी गर्दै आएको बताए। केही दिनयता पुल अवलोकन गर्न आउने पर्यटकको आगमन बढेपछि त्यही क्षेत्रमा राम्रो आम्दानी हुन थालेको उनको भनाइ छ। उनले अब फोटोग्राफीका लागि अन्यत्र जानुपर्ने अवस्था नरहेको बताए।
पुल निर्माणपछि केवल पर्यटकीय चहलपहल मात्र बढेको छैन, कैलालीको टीकापुर र बर्दियाको राजापुरबीचको आवागमन पनि सहज भएको छ। पुल बनेपछि करिब २४ किलोमिटर दूरी घटेर १५ किलोमिटरमा सीमित भएको छ। यसअघि डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अब हटेको स्थानीयले बताएका छन्।
स्थानीय प्रेमप्रसाद भण्डारीले पुलले दुई जिल्लाको पर्यटकीय सम्भावनालाई जोड्नुका साथै स्थानीय नागरिकको आवागमन सहज बनाएको बताए। उनका अनुसार पुलसँग नजिकै रहेको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीयको आयआर्जनमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
उनले पुल सञ्चालनसँगै टीकापुर र राजापुर क्षेत्रका बासिन्दाको दैनिक जीवन थप सहज हुने बताए। शिक्षा, स्वास्थ्य, बजार पहुँच र सामाजिक सम्बन्ध विस्तारमा पनि पुलले प्रत्यक्ष प्रभाव पार्ने स्थानीयको अपेक्षा छ।
पुल निर्माणको जिम्मा पाएको थानी निर्माण सेवाले निर्धारित समयअघि नै काम सम्पन्न गरेको जनाएको छ। कम्पनीलाई विसं २०८४ असार ११ गतेसम्मको समय दिइएको थियो। विसं २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको काम करिब एक वर्षमै सम्पन्न गरी पुल सञ्चालनमा ल्याइएको निर्माण कम्पनीका प्रबन्धक विक्रम बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार पुलको निर्माण सम्पन्न भइसकेको छ र अहिले आवागमन सञ्चालनमा छ। अब पुल हस्तान्तरणको तयारी भइरहेको उनले बताए।
यही असार १२ गते पुल उद्घाटन गर्ने तयारी गरिए पनि विविध कारणले उद्घाटन कार्यक्रम रोकिएको थियो। निर्माण कम्पनीका अनुसार करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ रुपैयाँ लागतमा बनेको पुलको लम्बाइ ४८२ मिटर छ।
स्थानीय सुन्दरलाल थारुले कर्णाली नदीमा बनेको पुल आवागमनको माध्यम मात्र नभई पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको बताए। उनका अनुसार पुल क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै जाँदा स्थानीय व्यापार, सेवा व्यवसाय र अन्य आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गर्न सकिन्छ।
कर्णाली नदीमाथि हालै दुईवटा पुल निर्माण सम्पन्न भएका छन्। टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथिको पक्की पुल पनि निर्माण सम्पन्न भई आवागमन सञ्चालनमा आइसकेको छ।
दौलतपुरको झोलुङ्गे पुल सञ्चालनमा आएसँगै कर्णाली नदी वारपारका स्थानीय समुदायबीचको सम्बन्ध, आवागमन, व्यापार र पर्यटन गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ। प्राकृतिक सौन्दर्य, नदी सभ्यता र स्थानीय जीवनशैलीलाई जोड्दै यो पुल पश्चिम नेपालको आन्तरिक पर्यटन विकासमा नयाँ आधार बन्न सक्ने स्थानीयको विश्वास छ।





