१५ असार २०८३, सोमबार

कक्षा १२ को नतिजा त्रुटि छानबिन गर्न सांसदहरूको माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कक्षा १२ को परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटि भएको भन्दै छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्यार्थीबाट उठेका गुनासोलाई सम्बोधन गर्न, त्रुटि पुष्टि भए दोषीमाथि कारबाही गर्न र प्रभावित विद्यार्थीलाई न्याय दिन माग गरे।

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूबाट उठिरहेको आवाजलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताइन्। उनले परीक्षाफल प्रकाशनमा भएको भनिएको त्रुटिबारे छानबिन गर्न र दोषी भेटिए कारबाही गर्न माग गरिन्।

सोही पार्टीकी सांसद प्रमिला गच्छदारले नतिजाबाट प्रभावित विद्यार्थीहरू आन्दोलित भइरहेको उल्लेख गर्दै सरकार यस विषयमा संवेदनशील हुनुपर्ने बताइन्। उनले विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिइन्।

बैठकमा सांसदहरूले अन्य समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले झापाको बिर्तामोड नगरपालिका ३ भएर बग्ने अदुवाखोला पुलमा टिप्परको ठक्करबाट अनुकृति चापागाइँको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराइन्। उनले मृतकका परिवारलाई पीडक पक्षले धम्क्याएको भन्ने घटनाबारे छानबिन गर्न गृह प्रशासनसमक्ष माग गरिन्।

नेकपा एमालेकी सांसद नीता घतानीले सवारी चालकको लापरबाहीका कारण हुने दुर्घटना रोक्न कठोर कानुनी व्यवस्था आवश्यक रहेको बताइन्। उनले झापाको घटनाका पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवरक्षेत्रीले विश्वकप फुटबल जारी रहँदा अखिल नेपाल फुटबल संघ एन्फा फिफाबाट निलम्बनमा परेको विषयले नेपाली खेलाडी र खेलप्रेमी मर्माहत भएको बताइन्। उनले यसले राष्ट्रको प्रतिष्ठामा समेत असर पारेको भन्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्ने धारणा राखिन्।

नेकपा एमालेका सांसद डा अर्जुन कार्कीले सङ्खुवासभामा निर्माणाधीन प्रसारण लाइनको काम रोक्न नहुने बताए। उनले विकास आयोजना अवरुद्ध हुँदा स्थानीय र राष्ट्रिय तहमा असर पर्ने भएकाले सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने माग गरे।

एमालेकै सांसद अम्बिकादेवी सङ्ग्रौलाले बिपी राजमार्गअन्तर्गत रोशीखोलाले कटान गरेको सडक खण्ड तत्काल पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनले सडक अवरुद्ध वा जोखिमपूर्ण हुँदा यात्रु र स्थानीय बासिन्दा प्रभावित भएको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल गोरुसिङ्गे सडकका खाल्डा तत्काल पुर्न प्रमुख जिल्ला अधिकारीमार्फत आयोजना प्रमुखलाई निर्देशन दिइए पनि कार्यान्वयन नभएको गुनासो गरे। उनले सडकको अवस्थाका कारण यात्रु, सवारी चालक र स्थानीय बासिन्दाले समस्या झेलिरहेको बताए।

सोही पार्टीका सांसद केपी खनालले कैलालीको लम्कीचुँहा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार गम्भीर नभएको आरोप लगाए। उनले स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सुकुम्वासी तथा भूमिहीन नागरिकका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिन्। उनले प्रदेशसभा खारेजी र स्थानीय तहको सङ्ख्या कटौती गर्ने विषय अघि बढाउन नहुने बताइन्।

नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ३ का नारायणप्रसाद पराजुली करेन्ट लागेर गम्भीर दुर्घटनामा परेको जानकारी गराउँदै जलविद्युत् आयोजनाका तार असुरक्षित रूपमा नछाड्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

बैठकमा सांसदहरूले शिक्षा, सडक पूर्वाधार, स्वास्थ्य सेवा, सवारी सुरक्षा, ऊर्जा आयोजना, खेलकुद क्षेत्र र भूमिहीन नागरिकका समस्याबारे सरकारलाई गम्भीर हुन आग्रह गरे। उनीहरूले जनसरोकारका विषयमा तत्काल जवाफदेही कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button