लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा ट्र्याज प्रणाली लागू

लुम्बिनी प्रादेशिक अस्पतालले आकस्मिक कक्षमा बिरामीको उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्र्याज प्रणाली लागू गरेको छ। अस्पतालमा बिरामीको चाप तीव्र रूपमा बढेपछि गम्भीर अवस्थाका बिरामीलाई प्राथमिकताका आधारमा तत्काल सेवा दिने उद्देश्यले उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो।
अस्पताल प्रशासनका अनुसार हाल लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब दुई हजारदेखि दुई हजार पाँच सयसम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन्। सीमित जनशक्ति र उपलब्ध स्रोतसाधनबीच बढ्दो चाप व्यवस्थापन गर्न आकस्मिक कक्षमा स्वास्थ्य अवस्थाका आधारमा बिरामी वर्गीकरण गर्ने प्रणाली सुरु गरिएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमले गम्भीर प्रकृतिका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन ट्र्याज प्रणाली उपयोगी हुने बताए। उनका अनुसार यस प्रणालीमा अस्पताल आएका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा उपचार प्राथमिकता दिइन्छ।
ट्र्याज प्रणालीअन्तर्गत अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखेर तत्काल उपचार सुरु गरिनेछ। मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो संकेतमा वर्गीकरण गरिनेछ। सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खँदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा राखिनेछ।
अस्पतालका अनुसार यो प्रणालीले आकस्मिक कक्षको सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग गर्नेछ। साथै गम्भीर अवस्थाका बिरामी उपचारको पालो कुर्दाकुर्दै थप जोखिममा पर्ने सम्भावना घट्ने अपेक्षा गरिएको छ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा उपलब्ध गराइँदै आएको सेवा बन्द गरेपछि सरकारी अस्पतालमा बिमासम्बन्धी सेवा लिन आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। निजी अस्पतालबाट रिफर भएर आउने र सिधै बिमामार्फत सेवा लिन आउने सेवाग्राही थपिँदा लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप अझ बढेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई सहज, प्रभावकारी र गुनासोरहित बनाउन प्रयास भइरहेको बताए। उनले बढ्दो सेवाग्राही संख्या र उपलब्ध स्रोतसाधनबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे।
अस्पतालले ट्र्याज प्रणाली लागू भएसँगै आकस्मिक कक्षमा उपचारको प्राथमिकता स्पष्ट हुने, गम्भीर बिरामीले समयमै सेवा पाउने र सेवाग्राही व्यवस्थापनमा सहजता आउने विश्वास लिएको छ।





