सांसदलाई जिम्मेवार र अध्ययनशील बन्न सभामुख अर्यालको आग्रह

ड्रागन मिडिया संवाददाता
काठमाडौँ
सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई मतदाता तथा आम जनताले विभिन्न माध्यमबाट नजिकबाट नियालिरहेको भन्दै जनप्रतिनिधिहरू आफ्नो जिम्मेवारीप्रति थप गम्भीर र जवाफदेही बन्नुपर्ने बताएका छन्।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानुन निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले सांसदहरूले विगतका राम्रा संसदीय अभ्यासबाट सिक्दै अध्ययनशील, प्रविधिमैत्री र प्रक्रियागत रूपमा दक्ष बन्नुपर्ने बताए।
सभामुख अर्यालका अनुसार प्रतिनिधिसभामा धेरै नयाँ अनुहार रहेकाले संसदीय विधि, प्रक्रिया र अभ्यासबारे थप स्पष्टता दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। उनले संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदहरू विधि र प्रक्रियामा अब्बल हुनुपर्ने धारणा राखे।
“अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ। संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,” सभामुख अर्यालले भने, “संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु।”
उनले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजी सीमाभन्दा बाहिर निस्केर सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले प्रत्येक गतिविधि सार्वजनिक उत्तरदायित्वसँग जोडिने बताए। जनप्रतिनिधिले संसद्, निर्वाचन क्षेत्र र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा संवेदनशील, अनुशासित र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले सांसदहरूको भूमिका केवल संसद् बैठकमा उपस्थित हुनेमा मात्र सीमित नरहेको उल्लेख गरे। कानुन निर्माण, सरकारको कामको निगरानी, जनसरोकारका विषय उठान, नीति छलफल र जनताको आवाजलाई संस्थागत रूपमा प्रस्तुत गर्ने जिम्मेवारी पनि सांसदको मूल दायित्व रहेको उनले बताए।
कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत मन्तव्य राख्दै सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए। उनले संसदीय कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सांसदहरू प्रक्रियाबारे स्पष्ट हुनु आवश्यक रहेको उल्लेख गरे।
महासचिव पाण्डेयका अनुसार दुईदिने अभिमुखीकरणमा संसदीय प्रक्रिया, बैठक सञ्चालन, विधेयक निर्माण प्रक्रिया, सांसदहरूको भूमिका, मर्यादा, संसदीय अभ्यास र सचिवालयसँगको समन्वयबारे जानकारी दिइनेछ।
सङ्घीय संसद् सचिवालयले सोमबार र मंगलबार सिंहदरबारस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका सांसदहरूका लागि संसदीय प्रक्रिया र अभ्याससम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमले नयाँ तथा अनुभवी सांसदहरूलाई संसदीय मर्यादा, प्रक्रियागत दक्षता र जनउत्तरदायित्वप्रति थप सचेत बनाउने अपेक्षा गरिएको छ।





