१५ असार २०८३, सोमबार

धानका प्रत्येक बिरुवासँग किसानको सपना र राष्ट्रको भविष्य जोडिएको छ: गगन थापा

ड्रागन मिडिया संवाददाता
काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा, भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन्।

राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति सम्मान र धन्यवाद व्यक्त गरेका छन्।

उनले असार १५ केवल धान रोपाइँको दिन मात्र नभई नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन्।

शुभकामना सन्देशमा उनले भनेका छन्, “असार १५ केवल धान रोपाइँको दिन मात्र होइन, यो नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव पनि हो। देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि हो।”

थापाले धान उत्पादनलाई खाद्य सुरक्षा, किसानको जीवनस्तर र राष्ट्रिय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्नेमा जोड दिएका छन्। उनले किसानलाई समयमै बीउ, मल, सिँचाइ, प्रविधि, बजार पहुँच र उत्पादनको उचित मूल्य उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भएको बताएका छन्।

उनका अनुसार कृषिलाई आत्मनिर्भर, सम्मानित र आधुनिक पेसाका रूपमा विकास नगरेसम्म देशको समग्र समुन्नति सम्भव हुँदैन। धान खेती नेपालको अर्थतन्त्र, संस्कार र जनजीवनको मुख्य आधार भएकाले यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

सभापति थापाले जलवायु परिवर्तन, वर्षाको अनिश्चितता, उत्पादन लागत वृद्धि, मल तथा सिँचाइको समस्या र किसानले उत्पादनको उचित मूल्य नपाउने अवस्थाले कृषि क्षेत्रलाई चुनौतीपूर्ण बनाएको उल्लेख गरेका छन्। उनले यी समस्याको दीर्घकालीन समाधानका लागि ठोस नीति, प्रभावकारी कार्यान्वयन र किसानमैत्री कार्यक्रम आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय धान दिवसले माटो, श्रम र उत्पादनप्रतिको सम्मानलाई अझ बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण किसान, कृषि श्रमिक र नेपाली नागरिकलाई शुभकामना दिएका छन्।

असार १५ नेपालमा राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आएको छ। यस दिन देशका विभिन्न स्थानमा धान रोपाइँ, असारे गीत, हिलो खेलाइ र दही चिउरा खाने परम्परासहित किसानको श्रम र कृषि उत्पादनको महत्व स्मरण गरिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button