सीमाविद बुद्धिनारायण श्रेष्ठलाई भीमसेन थापा पुरस्कार प्रदान गरिने

काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्षको भीमसेन थापा पुरस्कार सीमाविद बुद्धिनारायण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।
मुलुकको सीमा, भूगोल र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा लामो समयदेखि अध्ययन, अनुसन्धान र सार्वजनिक पैरवी गर्दै आएका श्रेष्ठलाई प्रतिष्ठानले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते श्रेष्ठलाई पुरस्कार प्रदान गरिनेछ।
श्रेष्ठ नेपालका सीमा, नक्सा, भूगोल र राष्ट्रिय क्षेत्राधिकारसम्बन्धी बहसमा लामो समयदेखि सक्रिय रहँदै आएका विज्ञका रूपमा परिचित छन्। उनले नेपालको सीमा व्यवस्थापन, ऐतिहासिक नक्सा, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका संवेदनशील भूभागसम्बन्धी विषयमा निरन्तर लेखन, अध्ययन र सार्वजनिक पैरवी गर्दै आएका छन्।
प्रतिष्ठानले देश र जनताको पक्षमा सीमा विषयमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई यस वर्षको पुरस्कारका लागि चयन गरिएको जनाएको छ।
करिब तीन दशकदेखि प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा इतिहास, राष्ट्रिय महत्त्व र सार्वजनिक योगदानका क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गर्दै आएको छ।
गत वर्ष नेपालको कूटनीतिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका डा. भेषबहादुर थापालाई भीमसेन थापा पुरस्कार प्रदान गरिएको थियो।
सीमा, भूगोल र राष्ट्रिय सार्वभौमिकतासम्बन्धी विषय नेपालका लागि संवेदनशील मानिँदै आएको छ। यस्तो अवस्थामा सीमा अध्ययन र राष्ट्रिय हितका पक्षमा निरन्तर सक्रिय व्यक्तित्वलाई पुरस्कार दिने प्रतिष्ठानको निर्णयलाई सीमा बहसमा बौद्धिक योगदानको सम्मानका रूपमा हेरिएको छ।





