१६ असार २०८३, मंगलवार

धान दिवसमा उपसभामुख ठाकुर किसानसँगै रोपाइँमा सहभागी

ड्रागन मिडिया संवाददाता
जनकपुरधाम

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख रुवीकुमारी ठाकुर किसानसँगै रोपाइँमा सहभागी भएकी छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित अधियामा लिएको खेतमा आयोजित रोपाइँ कार्यक्रममा उपसभामुख ठाकुर स्थानीय किसानहरूसँगै सहभागी भएकी हुन्।

रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुख ठाकुरले खाद्य सुरक्षा र खाद्य उत्पादनमा किसानको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताइन्। उनले मुलुकको अर्थतन्त्र, खाद्य आत्मनिर्भरता र ग्रामीण जीवनसँग कृषि प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिन्।

उपसभामुख ठाकुरले किसानले समयमै रासायनिक मल, उन्नत बीउ, पर्याप्त सिँचाइ, उचित बजार र उत्पादनको उचित मूल्य नपाउनु गम्भीर चिन्ताको विषय भएको बताइन्। उनले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको जीवनस्तर उकास्ने गरी प्रभावकारी नीति तथा कार्यक्रम निर्माण आवश्यक रहेको उल्लेख गरिन्।

किसानका समस्या समाधानका लागि आफूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाउँदै उनले कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।

उनले किसानमैत्री नीति निर्माण मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै निकायबीच समन्वय आवश्यक रहेको बताइन्।

राष्ट्रिय धान दिवसका अवसरमा आयोजित रोपाइँ कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि तथा सर्वसाधारणको समेत सहभागिता थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button