कांग्रेस फुटिसकेको ओलीको दाबी, दुवै पक्षले गरे खण्डन

ड्रागन मिडिया संवाददाता
काठमाडौं
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटिसकेको दाबी गरेपछि कांग्रेसभित्र र बाहिर राजनीतिक बहस चर्किएको छ। तर कांग्रेसका संस्थापन र इतर दुवै पक्षका नेताहरूले ओलीको दाबीलाई अस्वीकार गरेका छन्।
आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने योजनाअन्तर्गत कांग्रेस फुटाइएको बताएका थिए। उनले अरू दललाई पनि फुटाउने प्रयास हुन सक्ने दाबी गर्दै एमाले भने एकताबद्ध रहेको बताए।
“लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयासअन्तर्गत कांग्रेस फुटाइयो। अरूलाई पनि फुटाउने प्रयास हुन सक्छ,” ओलीले भने, “एमालेलाई फुटाउन सकिन्छ भन्ने सोच सफल हुँदैन। एमाले एकताबद्ध छ र एकताबद्ध नै रहन्छ।”
ओलीले उक्त अभिव्यक्ति पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्वराष्ट्रपति विद्या भण्डारीसमेत उपस्थित कार्यक्रममा दिएका थिए। उनको अभिव्यक्तिपछि कांग्रेसको आन्तरिक विवाद, महाधिवेशन तयारी र संस्थापन तथा इतर पक्षबीच चलिरहेको संवादबारे पुनः चर्चा सुरु भएको छ।
कांग्रेसभित्र पुस मसान्तयता संस्थापन र इतर पक्षबीच संगठन सञ्चालन, केन्द्रीय समिति समायोजन, क्रियाशील सदस्यता अद्यावधिक र १५ औँ महाधिवेशनको तयारीबारे मतभेद रहँदै आएको छ। यद्यपि पार्टी फुटेको औपचारिक घोषणा कुनै पक्षबाट भएको छैन।
कांग्रेस इतर समूहका नेता गुरु बरालले ओलीको दाबीको कुनै आधार नभएको बताए। उनका अनुसार कांग्रेसभित्र असन्तुष्टि र विवाद भए पनि औपचारिक विभाजन भएको छैन।
“उहाँले के आधारमा फुट्यो भन्नुभयो, आधिकारिक रूपमा त्यस्तो कुनै विभाजन भएको छैन,” बरालले भने, “अहिलेको संस्थापन पक्ष पार्टी एकता र पार्टी बलियो बनाउन भने अनिच्छुक र अव्यावहारिक देखिएको छ।”
बरालले संस्थापन पक्षले अघि सारेको सात बुँदे प्रस्तावमा आफूहरूले धारणा पठाए पनि त्यसको स्पष्ट प्रतिक्रिया नआएको बताए। उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई सम्मान मात्र गर्न सकिने भन्ने अभिव्यक्तिले लामो समयदेखि पार्टीमा काम गरेका नेता कार्यकर्तामा निराशा बढाएको छ।
उनले सरकारका कतिपय निर्णय र राजनीतिक गतिविधिप्रति कांग्रेस मौन बसेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। सीमाना, संविधान, स्थानीय तहलाई दलविहीन बनाउने प्रयास, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बहस र अन्य अलोकतान्त्रिक गतिविधिमा कांग्रेस नेतृत्व पर्याप्त रूपमा नबोलेको उनको आरोप छ।
“कतै हाम्रो पार्टी यी सबै गतिविधिको हिस्सेदार त होइन भन्ने शंका लागेको छ,” बरालले भने।
उनले प्रजातन्त्र र संघीयताका लागि संघर्ष गरेको ठूलो समूह अझै पार्टी बाहिर रहेको भन्दै त्यसलाई बेवास्ता गरेर सरकारको सहयात्री बन्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।
यता कांग्रेस संस्थापन पक्षले पनि ओलीको दाबीलाई अस्वीकार गरेको छ। कांग्रेस महामन्त्री गुरु घिमिरेले कांग्रेस नफुटेको र फुट्ने सम्भावना नरहेको दाबी गरे।
“न कांग्रेस फुटेको छ, न फुट्छ,” घिमिरेले भने, “ओलीजीले फुटेको भन्नुमा कुनै तर्क छैन।”
घिमिरेका अनुसार पार्टीभित्र देखिएका असन्तुष्टि समाधानका लागि निरन्तर छलफल भइरहेको छ। उनले नेता डा. शेखर कोइराला, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलासँग संवाद भइरहेको जानकारी दिए।
“इतर मतलाई कसरी सम्बोधन र समायोजन गर्ने, १५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण कसरी बनाउने भन्नेमा हामी दिनरात काम गरिरहेका छौँ,” घिमिरेले भने।
उनका अनुसार कोइराला पक्षले पठाएको पाँच बुँदे प्रस्ताव र संस्थापन पक्षले अघि सारेको सात बुँदे प्रस्तावमाथि छलफल भइरहेको छ। विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा केन्द्रीय समिति समायोजन, क्रियाशील सदस्यता अद्यावधिक र नयाँ संयन्त्र गठन गर्ने विषयमा पनि कुराकानी अघि बढेको छ।
घिमिरेले क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषय विधानअनुसारको प्रक्रिया भएको बताए। उनका अनुसार सदस्यता डिजिटल प्रणालीमा अद्यावधिक गर्ने काममा कुनै पक्षधरता अवलम्बन गरिएको छैन।
“क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषय विधानको धारा ४ र १४ अनुसारको निर्णय हो। यसलाई सबैले मान्नुपर्छ,” उनले भने।
महामन्त्री घिमिरेले सरकारका निर्णयप्रति कांग्रेस मौन नरहेको दाबी पनि गरे। उनका अनुसार संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक, सांसद तथा पार्टी पदाधिकारीहरूले विभिन्न मञ्चबाट सरकारका गतिविधिबारे आवाज उठाइरहेका छन्।
उनले सरकारको सय दिनको कामबाट जनता उत्साहित हुन नसकेको टिप्पणी गरे। प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने भए पनि संसद् छल्ने र अपमान गर्ने प्रवृत्ति देखिएको उनको आरोप छ।
“संघीय लोकतान्त्रिक प्रणालीमा संसद्ले नै प्रधानमन्त्री बनाउँछ र हटाउँछ,” घिमिरेले भने, “तर प्रधानमन्त्रीले संसद् छल्ने र अपमान गर्ने गरेको देखिन्छ। मन्त्रीहरूका काम पनि जनताको दैनिक जीवन सहज बनाउनेभन्दा स्टन्टबाजीतर्फ केन्द्रित देखिन्छन्।”
ओलीको अभिव्यक्ति राजनीतिक टिप्पणी मात्र हो वा कांग्रेसभित्रका कुनै स्रोतबाट प्राप्त संकेत हो भन्ने विषयमा भने कांग्रेसभित्रै फरक फरक बुझाइ देखिन्छ। इतर पक्ष संस्थापनको भूमिकाप्रति असन्तुष्ट छ भने संस्थापन पक्ष असन्तुष्टि संवादबाटै समाधान हुने दाबी गरिरहेको छ।
कांग्रेस अहिले १५ औँ नियमित महाधिवेशनको तयारीमा छ। महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन र इतर पक्षबीचको मतभेद, सदस्यता विवाद र संगठनात्मक समायोजनको विषयले पार्टीभित्र तनाव बढाएको छ। तर दुवै पक्षले औपचारिक रूपमा पार्टी विभाजनको सम्भावना अस्वीकार गरेका छन्।
यस अवस्थामा ओलीको अभिव्यक्तिले कांग्रेसको आन्तरिक विवादलाई थप राजनीतिक चर्चाको केन्द्रमा ल्याएको छ। कांग्रेसभित्रको असन्तुष्टि संवादबाट समाधान हुन्छ कि थप गहिरिन्छ भन्ने विषयले आगामी महाधिवेशनको वातावरण र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने देखिन्छ।





