कीर्तिपुर होल्डिङ सेन्टरमा सुरक्षा कडा, पक्राउ परेका डम्बर तामाङ अझै प्रहरी हिरासतमा

काठमाडौँ । सुकुम्बासी समस्या समाधान नभएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बस्दै आएका डम्बर तामाङ पक्राउ परेपछि सेन्टरको सुरक्षा व्यवस्था कडा पारिएको छ।
भोजपुरका ३९ वर्षीय तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ।
तामाङले काठमाडौँमा घर, जग्गा र ८ लाख रुपैयाँ नगद उपलब्ध गराउनुपर्ने माग गर्दै आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन खोजिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोशपूर्ण अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
तामाङ पक्राउ परेपछि कीर्तिपुर होल्डिङ सेन्टरभित्र र वरपर सुरक्षा निगरानी बढाइएको छ। एक भूमि अधिकारकर्मीका अनुसार सेन्टरमा प्रवेश गर्ने व्यक्तिहरूको झोला र ब्याग खानतलासी गरेपछि मात्र भित्र जान दिइएको छ।
ती अधिकारकर्मीका अनुसार होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू अहिले त्रासमा छन्। मिडियामा बोलेको वा अन्तर्वार्ता दिएकै आधारमा पक्राउ पर्न सक्ने डर त्यहाँ फैलिएको उनको भनाइ छ। आधिकारिक रूपमा प्रवेश निषेध नगरिए पनि सेन्टरमा सहज आवतजावत हुन नसकेको उनले बताइन्।
उनका अनुसार पक्राउ परेका तामाङ विगतमा सामान्य स्वभावका व्यक्ति थिए। तर बस्ती भत्काइएपछि उत्पन्न चरम निराशा र असुरक्षाका कारण उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका हुन्।
उनले भनिन्, “राज्यले २७ वटा सुकुम्बासी बस्ती भत्काउँदा धेरै परिवारको बास, सामान र जीविकोपार्जन प्रभावित भयो। पुर्जा पाइएला र दीर्घकालीन व्यवस्थापन होला भन्ने आशामा बसेका मानिसहरू अचानक विस्थापित भएपछि उनीहरूमा आक्रोश बढ्नु स्वाभाविक हो। तर अहिले आक्रोश व्यक्त गर्नसमेत नपाइने अवस्था बनेको छ।”
लगत संकलन अझै अन्योलमा
काठमाडौँका सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक आधिकारिक लगत संकलन अझै स्पष्ट हुन सकेको छैन। अधिकारकर्मीहरूका अनुसार भूमि समस्या समाधान आयोगले तोकेको ढाँचाबमोजिम भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन काठमाडौँका प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा भएको छैन।
बागमती सभ्यता एकीकृत विकास समितिले २५ हजार रुपैयाँ लिएर आफैँ हट्न इच्छुक परिवारको विवरण संकलन गरेको भए पनि सुकुम्बासीहरूले त्यसलाई वास्तविक लगत संकलन मानेका छैनन्।
सरकारले हाल कीर्तिपुर होल्डिङ सेन्टरमा ३ सय ८८ परिवार रहेको दाबी गरेको छ। तर अधिकारकर्मीहरूले २७ वटा बस्ती भत्काइँदा करिब ३ हजार ५ सयभन्दा बढी परिवार प्रभावित भएको दाबी गरेका छन्। उनीहरूका अनुसार कतिपय परिवार अझै दर्ता प्रक्रिया र पुनर्वाससम्बन्धी विवरणमा समेटिन सकेका छैनन्।
खानपान र पुनर्वासको प्रश्न
होल्डिङ सेन्टरमा रहेका परिवारलाई उपलब्ध गराइने खानाको अवस्था सामान्य रहेको सुकुम्बासी पक्षको भनाइ छ। अधिकारकर्मीका अनुसार त्यहाँ बस्ने परिवारहरू सरकारी व्यवस्थापनसँगै विभिन्न व्यक्ति र संस्थाको सहयोगमा पनि निर्भर छन्।
तामाङको पक्राउ र सेन्टरभित्र बढाइएको सुरक्षा निगरानीपछि सुकुम्बासी मोर्चा तथा भूमि अधिकारकर्मीहरूले थप दबाबमूलक कार्यक्रमबारे छलफल अघि बढाएका छन्।
यस विषयमा प्रहरी तथा सम्बन्धित सरकारी निकायको विस्तृत आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।





