सरकारको सय दिन उपलब्धिमूलक नभई प्रचारमुखी भयो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल उपलब्धिमूलक नभई प्रचारमुखी र स्टन्टबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्।
खबरहबसँगको कुराकानीमा उनले बहुमतको सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न नसकेको दाबी गरे। सरकारका निर्णय र कार्यशैलीले जनताको दैनिक जीवन सहज बनाउनेभन्दा प्रचारमुखी राजनीति बढाएको उनको टिप्पणी छ।
“प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ। संघीय लोकतान्त्रिक प्रणालीमा संसदले नै प्रधानमन्त्री बनाउँछ र आवश्यक परे हटाउँछ पनि,” घिमिरेले भने।
उनले प्रधानमन्त्री वालेन्द्र शाह संसदमा नियमित रूपमा उपस्थित नहुने गरेको भन्दै असन्तुष्टि जनाए। राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै हिँडेको विषयमा पनि उनले आपत्ति जनाए।
“उहाँले संसद छलेर जनताको बहुमतको अपमान गर्ने काम गर्नुभएको छ। सरकारका निर्णयले गरिखाने वर्गलाई अझ बढी प्रभावित बनाएको देखिन्छ। यसमा कांग्रेसको आपत्ति छ,” उनले भने।
महामन्त्री घिमिरेका अनुसार कांग्रेसले सरकारका जनहितविपरीतका निर्णयबारे सदनदेखि सार्वजनिक मञ्चसम्म आवाज उठाउँदै आएको छ। उनले कांग्रेस मौन बसेको भन्ने आरोप गलत भएको बताए।
“सरकारले गलत निर्णय गर्दा कतै कांग्रेस संसदीय दलका नेताले कुरा उठाउनुभएको छ। कतै प्रमुख सचेतक, सचेतक र सांसदहरूले उठाउनुभएको छ,” उनले भने, “पार्टी बाहिरका फोरममा सभापति स्वयं बोल्नुभएको छ। पदाधिकारी साथीहरू पनि बोल्नुभएको छ। हामी निरन्तर बोलिरहेका छौँ।”
सरकारको सुरुवाती तीन महिनाको कार्यशैली स्टन्टबाजी र प्रोपागाण्डा उन्मुख रहेको घिमिरेको आरोप छ। उनले बहुमतको सरकारले देश विकास गरोस् भन्ने चाहना कांग्रेसको पनि रहेको तर सरकारको प्राथमिकता जनताको जीवन सहज बनाउनेतर्फ केन्द्रित नदेखिएको बताए।
“बहुमत सरकारले देश विकास गरोस् भन्ने चाहना कांग्रेसको समेत छ। तर सरकार र मन्त्रीहरूको काम जनताको दैनिक जीवन सहज बनाउनेभन्दा स्टन्टबाजीमा केन्द्रित देखिन्छ,” महामन्त्री घिमिरेले भने।
उनले सरकारको कामबाट जनतामा उत्साह पैदा हुन नसकेको पनि बताए। घिमिरेले सरकार लोकतन्त्र र राष्ट्रिय सार्वभौमसत्ताका विषयमा समेत लापरवाह ढंगले अघि बढिरहेको आशंका व्यक्त गरे।
सीमाना, संविधान, स्थानीय तहलाई दलविहीन बनाउने प्रयास र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणाजस्ता विषयमा सरकार अलोकतान्त्रिक दिशातर्फ उन्मुख भएको उनको आरोप छ।
महामन्त्री घिमिरेले सरकारको सय दिने अवधि जनताको पक्षमा ठोस उपलब्धि दिने अवसर भए पनि त्यसलाई प्रचार, विवाद र राजनीतिक स्टन्टमा खर्च गरिएको टिप्पणी गरे।





