३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बोलकबोलका लागि आह्वान

ड्रागन मिडिया संवाददाता
काठमाडौँ
नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ‘क’’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि अनलाइनमार्फत बोलकबोल आह्वान गरेको हो।
सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले यी संस्थाहरूलाई काउन्टरपार्टीका रूपमा सहभागी गराउने जनाएको छ।
बोलकबोलमा सहभागी संस्थाले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर प्रस्ताव गर्दा दशमलव पछिका चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ३५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ। कबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
ऋणपत्र जारीमार्फत राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने र मौद्रिक नीति कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ।





