एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा

ड्रागन मिडिया संवाददाता
काठमाडौँ
किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित फ्रान्स फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम ३२ अन्तर्गत अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियम, इस्ट रदरफोर्डमा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
फ्रान्सको जितमा कप्तान एम्बाप्पेले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोल थपे। खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमै १–० को अग्रता दिलाएका थिए।


दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता दोब्बर बनायो। ५३औँ मिनेटमा बारकोलाले गोल गर्दै टोलीलाई २–० को सुरक्षित स्थितिमा पुर्याए। त्यसपछि खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको ३–० को जित सुनिश्चित भएको हो।
स्विडेनले खेल अवधिभर फ्रान्सेली रक्षापङ्क्तिमाथि निरन्तर दबाब बनाउन सकेन। फ्रान्सले बल नियन्त्रण, आक्रमणको गति र अवसर सदुपयोगमा स्पष्ट पकड देखाउँदै सहज जित निकालेको हो।
यो जितसँगै उपाधि दाबेदार मानिएको फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले पाराग्वेको सामना गर्नेछ।
अन्तिम ३२ अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। नर्वेको जितमा एर्लिङ हालान्डले ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
त्यस्तै, अर्को खेलमा मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुँदैछ। फिफा तालिकाअनुसार उक्त खेल मेक्सिको सिटीमा हुनेछ।





