१७ असार २०८३, बुधबार

चितवन राष्ट्रिय निकुञ्जले वर्षायाममा सफारी सेवा स्थगित गर्ने

ड्रागन मिडिया सम्वाददात
काठमाडौं,

नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक जंगल सफारी सेवा स्थगित गरेको छ। निकुञ्ज प्रशासनले वर्षात्का कारण उत्पन्न हुने जोखिम तथा सवारी मार्गमा पर्ने असरलाई ध्यान दिँदै अर्को सूचना नजारिएसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा हुने भलबाढी, पहिरो, रुख ढल्ने क्रम तथा कच्ची सडकमा हुने क्षतिले गर्दा पर्यटकको सुरक्षा र यात्रा सहजतामा समस्या आउने भएकाले सो सेवा रोकिएको हो। उनले भने, “वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजनन अवधिलाई समेत मध्यनजर गरी यो निर्णय लिइएको हो।”

निकुञ्जले प्रत्येक वर्ष यसै अवधिमा सफारी सेवा बन्द गर्दै आएको छ। वर्षाको अन्त्यपछि मौसमको अवस्था हेरेर दसैँको समयतिर सेवा पुनः सञ्चालनमा ल्याउने परम्परा रहेको थापामगरले जानकारी दिए।

उल्लेखनीय कुरा, निकुञ्जभित्रको सफारी बन्द भए पनि छिमेकी सामुदायिक वन क्षेत्रहरूमा सञ्चालित जीप सफारी भने निर्बाध रूपमा जारी रहने उनले स्पष्ट पारे।

चितवनको सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न स्थानबाट सञ्चालित व्यावसायिक जीप सफारीमार्फत पर्यटकहरूले वन्यजन्तु तथा प्राकृतिक दृश्यावलोकन गर्दै आएका छन्। यस क्षेत्रमा हरेक वर्ष हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।

नेपाल सरकारले संरक्षण तथा पर्यटन दुवैलाई सन्तुलन गर्न निकुञ्ज क्षेत्रमा कडा नियमन गर्दै आएको छ। वर्षायामको यस अस्थायी बन्दले पर्यटक संख्यामा केही असर पार्न सक्ने भए पनि दीर्घकालीन सुरक्षा र पारिस्थितिकीय सन्तुलनलाई प्राथमिकता दिइएको अधिकारीहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button