भियतनामले उत्तर–दक्षिण रेल भाडामा १० प्रतिशत कटौती गर्ने

हनोई – भियतनामको रेल सञ्चालकले घरेलु इन्धनको मूल्यमा आएको गिरावटको लाभ यात्रुलाई हस्तान्तरण गर्दै उत्तर–दक्षिण रेलमार्गका यात्रु सेवाको भाडा १० प्रतिशतले घटाउने भएको छ । भियतनाम समाचार एजेन्सीले बुधबार प्रकाशित गरेको रिपोर्टअनुसार यो नयाँ भाडा दर बुधबारदेखि अगस्ट १६ सम्म लागू हुनेछ ।
रिपोर्टका अनुसार यस भाडा समायोजनले यात्रुको यात्रा खर्च घटाउन तथा रेलमार्गको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
१० प्रतिशतको छुट उत्तर–दक्षिण द्रुतगामी रेलका सबै सेवामा लागू हुनेछ । यसअन्तर्गत सिट श्रेणीअनुसार प्रति टिकट १ लाख १० हजार भियतनामी डोङ (करिब ४.३६ अमेरिकी डलर) देखि २ लाख ८० हजार भियतनामी डोङ (करिब ११.११ अमेरिकी डलर) सम्मको कटौती हुनेछ ।
छुटको यो योजना दक्षिणी केन्द्र हो चि मिन्ह सहरस्थित साइगन स्टेसन र मध्य खान्ह होआ प्रान्तको न्हा ट्राङ स्टेसनबीचको सेवामा पनि लागू हुनेछ । त्यस्तै राजधानी हनोईको स्टेसन र मध्य प्रान्त न्गे अनको भिन स्टेसनलाई जोड्ने रेलका छनौट सुत्ने डब्बाहरू पनि यस योजनाअन्तर्गत रहनेछन् ।





