कम्बोडियामा लागुऔषध मुद्दामा पक्राउ घट्दा बरामदी बढ्यो

नोम पेन्ह – कम्बोडियामा सन् २०२६ को पहिलो ६ महिनामा लागुऔषध सम्बन्धी पक्राउको सङ्ख्या घटेको छ भने बरामद मात्रामा उल्लेख्य वृद्धि भएको छ । बुधबार लागुऔषध नियन्त्रण विभाग (एडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनमा यो जानकारी उल्लेख छ ।
प्रतिवेदनअनुसार जनवरीदेखि जुनसम्म प्रहरीले १२ हजार ५ सय ८१ जना लागुऔषधका आरोपितलाई पक्राउ गरेको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको १२ हजार ७ सय २८ को तुलनामा १.१५ प्रतिशतले कम हो ।
सन् २०२६ जनवरी १ देखि जुन ३० सम्म आरोपितहरूको साथबाट करिब २.३८ टन लागुऔषध र १२.७ किलोग्राम सुकेको गाँजा बरामद गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यो अवधिमा बरामद मात्रा गत वर्षको सोही अवधिमा बरामद १.४६ टन लागुऔषध र ३६६ किलोग्राम सुकेको गाँजाको तुलनामा बढी हो ।
बरामद गरिएका अधिकांश लागुऔषधमा केटामिन, एक्स्टासी, हेरोइन, क्रिस्टल मेथ, मेथाम्फेटामाइन चक्की, कोकेन र क्याथिनोन रहेका छन् ।
दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडियामा लागुऔषध ओसारपसारमा मृत्युदण्डको सजाय छैन । तर, ८० ग्रामभन्दा बढी लागुऔषध ओसारपसार गरेमा आजीवन कैदको सजाय हुने व्यवस्था छ ।





