१७ असार २०८३, बुधबार

चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ वार्षिकोत्सवमा पौडेलद्वारा शुभकामना व्यक्त

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५औँ वार्षिकोत्सवका अवसरमा नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पौडेलले चिनियाँ कम्युनिस्ट पार्टी, जनवादी गणतन्त्र चीनको सरकार, चिनियाँ जनता र विश्वभर रहेका चीनका शुभेच्छुकहरूमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा विशेष समारोह आयोजना गरिएको थियो। समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले परिवर्तनशील परिस्थिति बुझ्दै आफ्ना उपलब्धिको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुभकामना सन्देशमा पौडेलले सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले चीनको राष्ट्रिय मुक्ति, स्थायित्व, आधुनिकीकरण, गरिबी निवारण, आर्थिक विकास, वैज्ञानिक प्रगति र जनजीवन सुधारमा ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

उनले आजको चीन विश्वको महत्वपूर्ण आर्थिक, प्राविधिक, कूटनीतिक र विकास साझेदार राष्ट्रका रूपमा स्थापित हुनुमा चिनियाँ कम्युनिस्ट पार्टीको दीर्घकालीन दृष्टि, संगठनात्मक क्षमता र जनकेन्द्रित विकास नीतिको ठूलो योगदान रहेको बताएका छन्।

पौडेलले चीनले हासिल गरेका विकास उपलब्धि चीनका लागि मात्र नभई विश्वका विकासशील राष्ट्रहरूका लागि पनि प्रेरणादायी अनुभव भएको बताएका छन्। पूर्वाधार निर्माण, गरिबी निवारण, ग्रामीण पुनरुत्थान, विज्ञान तथा प्रविधि, हरित विकास र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा चीनको अनुभवले साझा विकास, बहुध्रुवीय विश्व व्यवस्था र मानव समुदायको साझा भविष्य निर्माणको अवधारणालाई थप सशक्त बनाएको उनको भनाइ छ।

नेपाल र चीनबीचको सम्बन्ध प्राचीन सभ्यता, सांस्कृतिक निकटता, हिमालयीय मित्रता, पारस्परिक सम्मान र असल छिमेकीपनमा आधारित रहेको उल्लेख गर्दै पौडेलले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।

उनले नेपाल र चीनबीचको पारस्परिक विश्वास, विकास साझेदारी, जनस्तरीय सम्बन्ध र क्षेत्रीय सहकार्य आगामी दिनमा अझ गहिरो र फलदायी बन्दै जाने विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ वार्षिकोत्सवले चीनलाई अझ समृद्ध, स्थिर, आधुनिक र जनकेन्द्रित समाजवादी राष्ट्र निर्माणको यात्रामा नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

उनले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी समझदारी र सहयोगात्मक साझेदारी आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी सन् १९२१ मा स्थापना भएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना दिवस प्रत्येक वर्ष जुलाई १ मा मनाइँदै आएको छ। यस वर्षको वार्षिकोत्सवलाई चीनले पार्टी निर्माण, राष्ट्रिय विकास, आधुनिकीकरण र विश्वसँगको सम्बन्धका सन्दर्भमा महत्वपूर्ण अवसरका रूपमा मनाइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button