अग्रज पत्रकार केशवराज पराजुलीको निधन

पोखरा। पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरस्थित आफ्नै निवासमा पराजुलीको निधन भएको हो। उनको बुधबार सेती नदी किनारस्थित तुलसीघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।
पराजुली विसं २०४० सालदेखि प्रकाशन सुरु भएको जनमत दैनिकका संस्थापक सम्पादक थिए। पोखराको पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहेका उनले विभिन्न पत्रपत्रिकामा खोजमूलक लेखरचना प्रकाशित गरेका थिए। उनका केही कृतिसमेत प्रकाशित छन्।
पत्रकारितासँगै शिक्षा र सामाजिक क्षेत्रमा पनि पराजुलीको उल्लेखनीय योगदान रहेको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन्। पोखराको बौद्धिक, सामाजिक र सञ्चार क्षेत्रमा उनी एक अनुभवी र सम्मानित व्यक्तित्वका रूपमा चिनिन्थे।
पराजुलीका एक छोरा र चार छोरी छन्।
उनको निधनप्रति नेपाल पत्रकार महासङ्घ, कास्कीले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। महासङ्घले पराजुलीको निधनले पोखराको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।





