देउवाका पुराना विश्वासपात्र राठौर गगन नेतृत्वमा उभिए, भने, ‘कांग्रेस छाड्दिनँ’

ड्रागन मिडिया सम्वाददाता
काठमाडौं
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले आफू अब पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा रहेर संघर्ष गर्ने बताएका छन्।
लुम्बिनी प्रदेशमा आयोजित कांग्रेस इतर पक्षको भेलालाई मंगलबार सम्बोधन गर्दै राठौरले लामो समय साथ दिएका पूर्वसभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले आफूले राजनीति गर्न सके गर्ने, नसके आलु खेती गर्ने, तर कांग्रेस नछाड्ने बताए।
राठौर तीन दशकभन्दा लामो समय देउवानिकट नेताका रूपमा चिनिँदै आएका थिए। २०४६ सालपछि देउवालाई साथ दिँदै आएका उनी देउवा समूहका विश्वासिला नेतामध्ये एक मानिन्थे। तर पछिल्लो समय उनले देउवा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै गगन थापा नेतृत्वको संस्थापन पक्षमै बसेर संघर्ष गर्ने अडान लिएका हुन्।
भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै राठौरले देउवा समूहमा रहेर काम गरेका नेताहरूको अवस्थाबारे प्रश्न उठाए। उनले भने, “१० जना मानिसले शेरबहादुर देउवालाई नेता मानेर हिँड्यौँ, हामीले के पायौँ?”
उनको यो अभिव्यक्तिले भेलामा सहभागी नेता तथा कार्यकर्ताबीच तरङ्ग सिर्जना गरेको थियो। देउवाका पुराना सहयोगीका रूपमा चिनिएका राठौरले खुलेर असन्तुष्टि व्यक्त गर्नु कांग्रेसभित्र बदलिँदो शक्ति सन्तुलनको संकेतका रूपमा हेरिएको छ।
राठौरले सोही मञ्चबाट क्रियाशील सदस्यता अद्यावधिक गर्ने घोषणा पनि गरे। उनले भेलामा सहभागी नेता कार्यकर्तालाई समेत सदस्यता अद्यावधिक गर्न आह्वान गरे। यद्यपि इतर खेमाले यस विषयलाई तत्कालीन प्राथमिकतामा नराख्ने नीति लिएको बताइन्छ।
राठौरको राजनीतिक यात्रा देउवासँग २०४६ सालदेखि जोडिएको मानिन्छ। देउवालाई नेता मानेर सक्रिय भएका उनी पार्टीभित्र देउवा समूहका भरपर्दा नेताका रूपमा स्थापित भएका थिए। यही कारण १३औँ महाधिवेशनपछि २०७३ जेठ २८ गते सभापति देउवाले उनलाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेका थिए।
२०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा राठौर सहमहामन्त्री निर्वाचित भएका थिए। त्यसबेला उनले हालका पार्टी प्रवक्ता देवराज चालिसेलाई पराजित गरेका थिए। त्यसपछि उनी सार्वजनिक रूपमा देउवा नेतृत्वको बचाउ गर्ने नेताका रूपमा देखिँदै आएका थिए।
तर अहिले राठौरले आफू सहमहामन्त्री रहेको तत्कालीन नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, “हामीलाई संस्थापन हुन २० वर्ष लागेको थियो। जसको जिम्मेवारी थियो, उसैको हातबाट संस्थापन गयो।”
लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले राठौरको अभिव्यक्तिलाई पार्टीभित्र लामो समय संघर्ष गरेका तर क्षमता अनुसार अवसर नपाएका नेता कार्यकर्ताको असन्तुष्टिका रूपमा व्याख्या गरे।
पुनले भने, “शेरबहादुर देउवासँग लागेर कतिपय साथीहरू लामो समय विभिन्न माध्यमबाट लाभको पदमा बसे। तर क्षमता हुँदा पनि कतिपय बाहिर रहनुपर्यो। उहाँहरूमा पार्टी राम्रो बनाउने चाहना छ। त्यही भावनाअनुसार पूर्वसहमहामन्त्रीज्यूले बोल्नुभएको हो।”
पुनका अनुसार लुम्बिनी प्रदेशमा डिजिटल क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम उल्लेख्य रूपमा अघि बढेको छ। यद्यपि तथ्यांक पूर्ण रूपमा नआइसकेकाले अद्यावधिक गर्नेको यकिन संख्या स्पष्ट भइनसकेको उनले बताए। उनले आफूले पहिलेदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई समर्थन गर्दै आएको जानकारी दिए।
शेखर कोइराला निकट नेता मानिने पुन पछिल्लो समय संस्थापन नेतृत्वसँग नजिक देखिएका छन्। उनले भेलामा राठौरले कार्यक्रमको मूल उद्देश्यभन्दा फरक कोणबाट भए पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै १५औँ महाधिवेशन गराउनुपर्ने र नेतृत्वमा रहे पनि नरहे पनि पार्टी नछाड्ने अडान स्पष्ट राखेको बताए।
देउवालाई पाँच पटक प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका गोपालमान श्रेष्ठले पनि पछिल्लो समय देउवा नेतृत्वको आलोचना गरेका छन्। पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनस्थलबाटै श्रेष्ठले देउवामाथि तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका थिए।
श्रेष्ठले सो कार्यक्रममा भनेका थिए, “शेरबहादुरले तानाशाही प्रवृत्ति देखाएपछि गगन र विश्वप्रकाशलाई साथ दिने निर्णय गरेँ। उनलाई आपत् पर्दा साथ दिएकोमा पछुतो लागिरहेको छ।”
गोपालमान श्रेष्ठ पनि लामो समय देउवाका निकट राजनीतिक सहयात्री मानिन्थे। २०४८ सालको आमनिर्वाचनपछि देउवा गृहमन्त्री बनेका बेला श्रेष्ठले बागमती क्षेत्रको पार्टी संगठनमा भूमिका पाएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनपछि कांग्रेस प्रतिपक्षमा पुगे पनि उनले देउवाको साथ छाडेका थिएनन्।
२०५२ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा श्रेष्ठले सरकार र पार्टीबीच समन्वय गर्ने नेताको भूमिका निर्वाह गरेका थिए। उनी मन्त्रिपरिषदमा नरहे पनि संगठनमा देउवाका भरपर्दा सहयोगीका रूपमा स्थापित थिए। २०५५ र २०५६ सालतिर गिरिजाप्रसाद कोइराला र देउवा पक्षबीच आन्तरिक शक्ति संघर्ष तीव्र भएका बेला पनि श्रेष्ठ देउवा समूहको संगठन विस्तार, कार्यकर्ता परिचालन र महाधिवेशन तयारीमा सक्रिय थिए।
तर अहिले श्रेष्ठ विशेष महाधिवेशनबाट आएको गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा सदस्य मात्र छन्।
देउवाले २०७८ साउन १० गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका उमेश श्रेष्ठ पनि पछिल्लो समय गगन नेतृत्वतर्फ नजिकिएका छन्। देउवा नेतृत्वमै कांग्रेस कोषाध्यक्षको जिम्मेवारी पाएका श्रेष्ठ विशेष महाधिवेशनमा खुलेका थिएनन्। अहिले गगन थापाले उनलाई कोषाध्यक्षमा दोहोर्याउँदै आफ्नो पक्षमा ल्याएको कांग्रेस वृत्तमा चर्चा छ।
त्यस्तै शेखर कोइराला समूहबाट १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित जीवन परियार पनि संस्थापन नेतृत्वसँग जोडिएका छन्। बौद्धिक नेताका रूपमा परिचित डा. मीनेन्द्र रिजालले पनि थापा नेतृत्वसँग अघि बढ्नुको विकल्प नरहेको धारणा राख्दै आएका छन्।
इतर समूहका प्रभावशाली नेता डा. शेखर कोइरालाका भाइ तथा कांग्रेस नेता शशांक कोइरालाले पनि असार १५ गते आयोजित दही चिउरा कार्यक्रममा आफू सभापति थापाको पक्षमा खुलेको घोषणा गरिसकेका छन्।
कांग्रेसभित्र पछिल्लो समय देउवानिकट र इतर समूहका विभिन्न नेता क्रमशः गगन थापा नेतृत्वको संस्थापन पक्षसँग नजिकिँदै गएको देखिएको छ। पुराना समूहगत समीकरण कमजोर हुँदै जाँदा पार्टीभित्र नयाँ शक्ति सन्तुलन निर्माण भइरहेको छ।
राठौर, गोपालमान श्रेष्ठ, उमेश श्रेष्ठ, जीवन परियार, मीनेन्द्र रिजाल र शशांक कोइरालाजस्ता नेताहरूको पछिल्लो भूमिका कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। उनीहरूको गतिविधिले विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको संरचना बलियो हुँदै गएको र पुरानो देउवा समूहभित्र असन्तुष्टि बढेको देखाएको छ।
कांग्रेसभित्र आगामी १५औँ महाधिवेशन कसले गराउने, क्रियाशील सदस्यता अद्यावधिक कसरी अघि बढाउने, पुराना नेताको भूमिका के हुने र नयाँ नेतृत्वसँग असन्तुष्ट समूह कसरी समायोजन हुने भन्ने विषय अब पार्टीको आन्तरिक बहसको केन्द्रमा आउने देखिएको छ।





