ठमेलमा आपत्तिजनक गतिविधि र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँच विदेशी महिला पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट आपत्तिजनक गतिविधिमा संलग्न भएको आरोपमा पाँच विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ठमेल क्षेत्रबाट चार युगान्डाली र एक इन्डोनेसियाली नागरिकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर दुःख हैरानी दिएको र आपत्तिजनक गतिविधिका लागि मोलमोलाइ गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कार्यक्षेत्रमा खटिएको टोलीले उनीहरूलाई सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोप पनि लागेको छ।
पक्राउ परेका महिलाहरूलाई प्रहरी वृत्त लैनचौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै निगरानी बढाइएको जनाएको छ। पर्यटकीय क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।





