काठमाडौँ र पोखराका १४ पेट्रोल पम्पमा लगाइएको ताला आयल निगमले खोल्यो

काठमाडौं। नेपाल आयल निगमले काठमाडौँ र पोखराका १४ पेट्रोल पम्पमा लगाइएको ताला खोलेको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्तिसम्बन्धी समस्या समाधान भएपछि काठमाडौँका आठ र पोखराका ६ गरी १४ वटा पेट्रोल पम्पमा लगाइएको ताला खोलिएको निगमले जनाएको छ।
मूल्य घटेपछि देशभरका विभिन्न पेट्रोल पम्पले उपभोक्तालाई इन्धन वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको गुनासो बढेको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन्।
मन्त्रीको निर्देशनपछि निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पेट्रोल पम्पमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा इन्धन नभएको भन्दै वितरण रोकेका पम्पहरूमा निगमले तालाबन्दी गरेको थियो।
पम्प सञ्चालकहरूले आफ्नो पम्पमा इन्धन नरहेको जानकारी गराएपछि निगमको टोलीले त्यसको जाँच गरेको थियो। जाँचका क्रममा पम्पमा इन्धन नभेटिएको र पछि पुनः इन्धन उपलब्ध गराइएपछि बन्द गरिएका सबै पम्पमा लगाइएको ताला खोलिएको निगमले जनाएको छ।
निगमका अनुसार बजारमा इन्धन आपूर्ति सहज बनाउने, कृत्रिम अभाव हुन नदिने र उपभोक्तालाई नियमित रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो।
निगमले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि उपभोक्तालाई इन्धन वितरण नगर्ने, भण्डारण गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य स्वीकार्य नहुने जनाएको छ। आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने निगमको भनाइ छ।





