अन्तर्राष्ट्रिय युवा महोत्सव २०२६ का लागि विदेशी पत्रकार र ब्लगरको आवेदन खुला

रुसको येकातेरिनबर्ग सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय युवा महोत्सव २०२६ का लागि विदेशी पत्रकार र ब्लगरहरूको मान्यता आवेदन खुला गरिएको छ।
महोत्सव आगामी सेप्टेम्बर ११ देखि १७ सम्म येकातेरिनबर्गमा आयोजना हुनेछ। आयोजकका अनुसार यस कार्यक्रममा विश्वका १९० देशबाट करिब १० हजार युवा नेतृत्व सहभागी हुनेछन्। विज्ञान, शिक्षा, सञ्चार, सार्वजनिक प्रशासन, उद्यमशीलता लगायत विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका युवा पेशाकर्मीहरूले अनुभव आदानप्रदान गर्ने, विश्वव्यापी चुनौतीबारे छलफल गर्ने र भविष्यको साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवको कार्यक्रममा सञ्चार क्षेत्रका व्यक्तित्वहरूका साथै रुस र अन्य देशका अग्रणी विज्ञहरूको सहभागिता रहने जनाइएको छ।
विदेशी पत्रकार र ब्लगरहरूले आगामी जुलाई १७, २०२६ सम्म अन्तर्राष्ट्रिय अवसर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। मान्यता प्राप्त सञ्चार प्रतिनिधिहरूले महोत्सवका सबै आधिकारिक कार्यक्रमस्थलमा प्रवेश पाउनेछन्।
महोत्सवका क्रममा सञ्चारकर्मीहरूका लागि अन्तर्राष्ट्रिय मिडिया सेन्टर स्थापना गरिनेछ। उक्त केन्द्रमा कार्यस्थल, विश्राम क्षेत्र, प्रेस ब्रिफिङ, दैनिक जानकारी कार्यक्रम तथा विशेष अन्तर्वार्ताका लागि छुट्टै स्थान उपलब्ध हुनेछ।
विदेशी सञ्चार प्रतिनिधिहरूका लागि येकातेरिनबर्गसम्मको स्थानान्तरण तथा सहरका होटलमा आवाससम्बन्धी सेवा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।
रुसी विदेश मन्त्रालयबाट मान्यता प्राप्त नगरेका विदेशी पत्रकारहरूले आवेदनसँगै सम्पादकीय जिम्मेवारी पत्र, सञ्चार संस्थाको प्रमाणपत्र, संक्षिप्त जीवनवृत्त, व्यक्तिगत तस्बिर र वैध प्रेस कार्डको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
मान्यता प्रक्रियासम्बन्धी थप जानकारीका लागि इच्छुक सञ्चार प्रतिनिधिहरूले [email protected] मा सम्पर्क गर्न सक्नेछन्।





