त्रिभुवन विमानस्थलबाट सुनचाँदीका गरगहनासहित दुई जना पक्राउ

ड्रागन मिडिया संवाददाता
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीजस्तो देखिने धातुका गरगहनासहित दुई जना पक्राउ परेका छन्।
जुत्ता, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस जाँच गर्ने क्रममा ठूलो परिमाणमा गरगहना फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उक्त कार्गो युनिक कार्गोले एपेक्स लजिस्टिकमार्फत काठमाडौँबाट संयुक्त राज्य अमेरिका पठाउन लागेको खुलेको छ।
प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ।
उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
प्रहरीले कार्गो बाकसबाट २२ थान ठूला नौगेडी, ४४ थान साना नौगेडी, १४ थान २१ गेडी, १६ थान चन्द्रमा र २० थान जन्तरलगायत विभिन्न प्रकारका गरगहना बरामद गरेको छ।
बरामद गरिएका गरगहनाको वास्तविक धातु, तौल, मूल्य तथा वैधानिक कागजातबारे भन्सार कार्यालयले थप परीक्षण र अनुसन्धान गर्ने जनाइएको छ।





