कांग्रेसको असन्तुष्ट पक्षले चुनदेवीमा महाधिवेशन तयारी कार्यालय खोल्दै

ड्रागन मिडिया संवाददाता
काठमाडौं
नेपाली कांग्रेसको असन्तुष्ट संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै तयारी सुरु गर्न काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ।
पार्टीको संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि बढाइरहेका बेला पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरूले अलग्गै सम्पर्क कार्यालयमार्फत महाधिवेशनको तयारी गर्न लागेका हुन्। कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका पारित गरिसकेको छ।
कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार सम्पर्क कार्यालय सञ्चालनका लागि चुनदेवीमा घर भाडामा लिइएको छ। हाल कार्यालय भवनमा रङरोगन र आवश्यक व्यवस्थापनको काम भइरहेकाले दुईदेखि तीन दिनभित्र औपचारिक रूपमा काम सुरु हुने उनले बताए।
कार्यालयको नाम “१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय” राखिने निधिले जानकारी दिए। उक्त कार्यालयबाट महाधिवेशनसम्बन्धी संगठनात्मक तयारी, नेता तथा कार्यकर्तासँग सम्पर्क, प्रतिनिधि परिचालन र असन्तुष्ट पक्षको आन्तरिक समन्वय गरिने बताइएको छ।
असन्तुष्ट पक्षले समानान्तर रूपमा महाधिवेशनको तयारी गर्ने वा पार्टी विभाजनसम्म जाने भन्ने विषयमा भने अहिलेसम्म औपचारिक निर्णय गरेको छैन। निधिले आफूहरू पार्टी एकताकै पक्षमा रहेको तर संस्थापन पक्षबाट समस्या समाधानका लागि आवश्यक गम्भीरता नदेखाइएको बताएका छन्।
सर्वोच्च अदालतको निर्णयपछि खड्का समूहका नेताहरूले पार्टी एकता कायम राख्ने र १५औँ महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र तथा सबै पक्षले अपनत्व लिन सक्ने गरी आयोजना गर्ने आधार खोज्नुपर्ने धारणा राख्दै आएका छन्। सम्मानजनक समायोजन नभए वैकल्पिक राजनीतिक बाटोबारे छलफल हुन सक्ने भए पनि समूहका अधिकांश नेता तत्काल पार्टी विभाजनको पक्षमा नरहेको बताइएको छ।
पूर्वसभापति देउवा पक्षको नेतृत्व गरेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत असन्तुष्ट पक्षले यसअघि नै संस्थापन पक्षलाई विभिन्न माग समेटिएको लिखित प्रस्ताव पठाएको छ। प्रस्तावको सबैभन्दा पेचिलो विषय १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय कार्यसमितिबीचको समायोजन हो।
खड्का पक्षले दुवै केन्द्रीय कार्यसमितिलाई समायोजन गरी १५औँ महाधिवेशनका लागि साझा निर्वाचन आयोजक समिति बनाउनुपर्ने प्रस्ताव राखेको थियो। विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको थियो।
असन्तुष्ट पक्षका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका ११४ जना सदस्य हालको केन्द्रीय कार्यसमितिमा समेटिएका छैनन्। उनीहरू सबैलाई उचित रूपमा समायोजन गर्नुपर्ने माग खड्का पक्षले अघि सारेको छ।
त्यसैगरी निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति र विधान संशोधन समिति दुवै पक्षको सहभागितामा गठन गर्नुपर्ने प्रस्ताव पनि असन्तुष्ट पक्षले राखेको छ। यी समितिमा साझा प्रतिनिधित्व कायम गर्ने विषयमा भने दुवै पक्षबीच गम्भीर मतभेद नरहेको नेताहरूले बताएका छन्।
कांग्रेसभित्रको मुख्य विवाद नेतृत्वको वैधानिकता, केन्द्रीय कार्यसमितिको समायोजन र महाधिवेशन निष्पक्ष हुने सुनिश्चिततामा केन्द्रित देखिएको छ। संस्थापन पक्षले देशभर महाधिवेशनको औपचारिक तयारी अघि बढाइरहेको छ भने खड्का नेतृत्वको असन्तुष्ट पक्षले छुट्टै संरचनामार्फत आफ्नो संगठनात्मक उपस्थिति सुदृढ गर्न थालेको छ। संस्थापन पक्षले यसअघि नै ७७ वटै जिल्लामा महाधिवेशन तयारीका लागि खटिने प्रतिनिधिहरूसँग अन्तरसंवादसमेत गरिसकेको छ।
चुनदेवीमा खुल्न लागेको सम्पर्क कार्यालयले कांग्रेसभित्रको विवाद समाधानतर्फ दबाब सिर्जना गर्ने हो वा पार्टीभित्र समानान्तर संरचना संस्थागत गर्ने हो भन्ने विषय आगामी संवाद र सहमतिमा निर्भर रहनेछ। दुवै पक्षबीच केन्द्रीय संरचनाको समायोजन र निष्पक्ष महाधिवेशनको आधारमा सहमति नभए कांग्रेसको आन्तरिक विवाद थप जटिल बन्न सक्ने देखिएको छ।





