अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन भएको होइनः शिक्षामन्त्री पोखरेल

काठमाडौँ। शिक्षामन्त्री सस्मित पोखरेलले वर्तमान सरकारले हस्तक्षेप गरेका कारण मात्रै अखिल नेपाल फुटबल संघ एन्फालाई फिफाले निलम्बन नगरेको बताएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विगतका सरकारका पालामा समेत विभिन्न तहबाट एन्फाको कामकारबाहीमा हस्तक्षेप हुँदै आएको बताए।
उनले भने, ‘फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र भएको होइन। विभिन्न समयमा विभिन्न तहबाट सरकारका तर्फबाट हस्तक्षेप हुँदै आएको थियो।’
नेपाली फुटबल अब योभन्दा तल जाने ठाउँ नरहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले खेलकुद क्षेत्रलाई माथि उठाउने दाबी गरे।
मन्त्री पोखरेलका अनुसार एन्फासम्बन्धी भ्रष्टाचारका धेरै उजुरी परेका छन्। ती उजुरीमाथि छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा समिति गठन गरिएको उनले जानकारी दिए।
उनले नेपालको फुटबलले विश्वकपमा केही उपलब्धि हासिल नगरेसम्म एन्फाका पदाधिकारीलाई विश्वकपमा सहभागी हुन जान नदिइने बताए।
फिफा र एसियाली फुटबल महासंघ एएफसीका पदाधिकारीलाई वार्ताका लागि नेपाल बोलाइएको जानकारी दिँदै उनले उनीहरू आएपछि एन्फाको निलम्बन र नेपाली फुटबलको भावी संरचनाबारे विस्तृत छलफल गरिने बताए।
नेपालको फुटबललाई जसरी भए पनि माथि उठाउने सरकारको अठोट रहेको मन्त्री पोखरेलको भनाइ छ।
अब गठन हुने एन्फाको नेतृत्व राजनीतिक भागबन्डाका आधारमा चयन नगरिने उल्लेख गर्दै उनले नेपाली फुटबलमा योगदान दिएका पूर्वखेलाडी, फुटबललाई माया गर्ने व्यक्ति र खेलबारे राम्रो ज्ञान भएका व्यक्तिलाई नेतृत्वमा ल्याउने सरकारको योजना रहेको बताए।





