रुस र अन्तर्राष्ट्रिय रेडक्रसबीच युक्रेन, इरान र सिरियालगायत क्षेत्रमा मानवीय सहयोग विस्तारमा जोड

ड्रागन मिडिया संवाददाता
काठमाडौं
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) की अध्यक्ष मिर्जाना स्पोल्जारिकबीच मङ्गलबार मस्कोमा भेटवार्ता भएको छ। कार्य भ्रमणका क्रममा रुस आइपुगेकी स्पोल्जारिकसँगको वार्तामा युक्रेन सङ्कटसहित विश्वका प्रमुख मानवीय सङ्कटग्रस्त क्षेत्रहरूबारे केन्द्रित छलफल भएको रुसी विदेश मन्त्रालयले जनाएको छ।
जुलाई १ मा भएको भेटवार्तामा युक्रेन सङ्कट, इरान, सिरिया, प्यालेस्टाइन, यमन, अफ्रिका र दक्षिणपूर्व एसियाका मानवीय अवस्थाबारे विस्तृत छलफल भएको थियो। दुवै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको कडाइका साथ पालना र यस क्षेत्रमा राजनीतिबाट मुक्त सहकार्यको महत्त्वमा जोड दिएका छन्।
वार्ताको विशेष ध्यान युक्रेन द्वन्द्वका क्रममा भएका कथित अपराधसम्बन्धी तथ्याङ्क प्रमाणीकरणका संयुक्त प्रयासहरूको समीक्षामा केन्द्रित रहेको रुसी पक्षले जानकारी दिएको छ। साथै डोनबास क्षेत्रसहित रुसी मानवीय सङ्घसंस्था र मानवअधिकार निकायहरूसँग रेडक्रसको सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।
लाभरोभले वार्ताको सुरुमा व्यक्त गरेको धारणामा रुस र अन्तर्राष्ट्रिय रेडक्रस समितिबीच लामो समयदेखि रहेको सहकार्यलाई थप सुदृढ गर्ने आफूहरूको चाहना रहेको उल्लेख गरेका थिए। उनले विश्वका विभिन्न क्षेत्रमा रेडक्रसले खेलिरहेको मानवीय भूमिकाको प्रशंसा गर्दै तटस्थ र स्वतन्त्र रूपमा काम गर्ने संस्थाको हैसियतले आईसीआरसीको महत्त्वलाई रुसले सधैं स्वीकार गर्दै आएको बताए।
दुवै पक्षले नियमित सम्पर्कलाई निरन्तरता दिने र रुस तथा अन्तर्राष्ट्रिय रेडक्रस समितिबीच व्यावहारिक सहकार्यलाई थप सुदृढ गर्ने पारस्परिक चासो पुष्टि गरेको रुसी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष स्पोल्जारिकको यो रुस भ्रमण यस्तो समयमा भएको छ जतिबेला युक्रेन युद्धका कारण मानवीय सङ्कट गहिरिँदै गएको छ भने मध्यपूर्व र अफ्रिकाका विभिन्न क्षेत्रमा पनि रेडक्रसको उपस्थिति र सहयोगको खाँचो बढिरहेको छ। अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना र मानवीय सहायतामा पहुँच सुनिश्चित गर्ने विषय यस भेटवार्ताको मूल सन्देशका रूपमा रहेको विश्लेषकहरूको भनाइ छ।





