असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका एमाले नेता लक्ष्मी महतो कोइरी पक्राउ

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँ
सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट दोषी ठहर भएका नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ स्थित पार्टी कार्यालय अगाडिबाट बिहीबार साँझ करिब ६ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।
यसअघि महोत्तरी जिल्ला अदालतले कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
उच्च अदालतको फैसलापछि प्रहरीले कोइरीलाई पक्राउ गरेको हो।
सोही मुद्दामा उच्च अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय, पवन कापर र रामशंकर मिश्रलाई पनि पाँच वर्ष कैद सजाय सुनाएको छ।
यस्तै, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालतले सदर गरेको छ।





