स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित
ड्रागन मिडिया संवाददाता
काठमाडौँ
प्रतिनिधिसभाको आजको बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथि दफावार छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन्।
त्यसअघि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले सरकारले अघि सारेको एक सयबुँदे सुधार कार्यसूचीअनुसार स्वास्थ्य क्षेत्रमा सुधारका काम भइरहेको बताइन्।
विपन्न नागरिक आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा १० प्रतिशत शय्या छुट्याउने व्यवस्था गरिएको उनले स्पष्ट पारिन्।
विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरू आरेन राई, निशा डाँगी, खड्ग शाही, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, कमल सुवेदी, रमेश मल्ल, साजिदा खातुन सिद्धकी र कृपाराम रानालगायत सहभागी भएका थिए।
छलफलमा सांसदहरूले प्रस्तावित विधेयकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र देखिएका विद्यमान समस्यालाई पर्याप्त रूपमा सम्बोधन नगरेको बताएका थिए।
उनीहरूले विधेयक पदाधिकारीको व्यवस्थापनमा बढी केन्द्रित भएको भन्दै प्रतिष्ठानभित्रका संरचनागत, प्रशासनिक र सेवा प्रवाहसम्बन्धी समस्या समाधान हुने गरी संशोधन गर्न सरकारसँग आग्रह गरेका थिए।





