१९ असार २०८३, शुक्रबार

लमही डायलाइसिस सेन्टरमा नयाँ बिरामीले पालो नपाउँदा उपचारमा समस्या

ड्रागन मिडिया संवाददाता
दाङ

दाङको लमही सामुदायिक डायलाइसिस सेन्टरमा मिर्गौलाको डायलाइसिस गराउनुपर्ने नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ।

सेन्टरमा नियमित सेवा लिइरहेका बिरामीबाहेक ५० जनाभन्दा बढी नयाँ बिरामी डायलाइसिसको पालो पर्खेर बस्न बाध्य भएको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिए।

मिर्गौला फेल भएका बिरामीको सङ्ख्या निरन्तर बढ्दै गए पनि उपलब्ध उपकरण, जनशक्ति र पूर्वाधार सीमित भएकाले नयाँ बिरामीलाई तत्काल सेवा दिन नसकिएको उनले बताए।

नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले समयमै उपचार नपाउँदा स्वास्थ्य अवस्था थप जटिल हुने जोखिम बढेको छ। उपचारमा भएको ढिलाइले बिरामीसँगै उनीहरूका परिवारमाथि मानसिक र आर्थिक भार पनि थपिएको छ।

हाल लमही सामुदायिक डायलाइसिस सेन्टरबाट ५८ जना बिरामीले नियमित सेवा लिइरहेका छन्। उपलब्ध जनशक्ति र उपकरणको अधिकतम उपयोग भइरहेको भए पनि बढ्दो बिरामीको चापका कारण थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको प्रमुख पाण्डेको भनाइ छ।

उनका अनुसार दाङका साथै कपिलवस्तु, प्युठान, रोल्पा, रुकुम, सल्यान र कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट समेत बिरामी डायलाइसिस सेवाका लागि लमही आउने गरेका छन्।

सेवाको क्षेत्र विस्तार हुँदै गए पनि आवश्यक भवन, उपकरण र जनशक्ति थप हुन नसक्दा समस्या झन् गम्भीर बन्दै गएको सेन्टरले जनाएको छ।

पर्याप्त भवन, थप डायलाइसिस मेसिन र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न सके सेवा विस्तार गरी पालो कुरिरहेका बिरामीलाई समेत नियमित उपचार दिन सकिने सेन्टरको भनाइ छ।

स्थानीयवासी तथा बिरामीका आफन्तले बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप डायलाइसिस मेसिन, दक्ष जनशक्ति र आवश्यक पूर्वाधार विस्तारका लागि तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button