रूपन्देहीमा सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

ड्रागन मिडिया संवाददाता
रूपन्देही
रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुटपाट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका संयुक्त टोलीले छुट्टाछुट्टै घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई सुनका सिक्री र मोटरसाइकलसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ स्थित सूर्यपुरा हाटबजारमा भीडभाडको मौका छोपी एक महिलाको घाँटीबाट गणेश भगवान्को लकेटसहितको सुनको सिक्री तानेर फरार भएको आरोपमा एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ शिवपुराका २५ वर्षीय विकास राय रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको सुनको सिक्री बरामद गरेको जनाएको छ। थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ।
यस्तै, असार १० गते तिलोत्तमा नगरपालिका वडा नम्बर ४ ड्राइभरटोलस्थित चाँदनी मार्गमा पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट मोटरसाइकलमा आएका व्यक्तिले सुनको सिक्री तानेर फरार भएको घटनामा थप चार जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले अनुसन्धानका क्रममा भारतको गोरखपुरका ३२ वर्षीय राहुल जयसवाल, महाराजगन्जका २२ वर्षीय प्रिन्स जयसवाल, बिहारका ३० वर्षीय नितेशकुमार गुप्ता र रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का ३२ वर्षीय प्रदीप कान्दुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट २२ दशमलव २२ ग्राम तौलको एक थान सुनको सिक्री, नौ ग्राम तौलको अर्को सुनको सिक्री र लु५७प २४३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। उनीहरू अन्य सिक्री लुटपाटका घटनामा समेत संलग्न रहे वा नरहेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





