इन्धन बिक्रीमा अवरोध गर्ने पेट्रोलपम्पलाई १० लाखसम्म जरिवाना

ड्रागन मिडिया संवाददाता
काठमाडौँ
सरकारले पेट्रोलियम पदार्थको नियमित बिक्रीवितरणमा अवरोध गर्ने पेट्रोलपम्पलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने र १५ दिनसम्म इन्धन आपूर्ति रोक्ने व्यवस्था गरेको छ।
नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै उक्त प्रावधान लागू गरेको हो।
बुधबार देशभर पेट्रोलियम पदार्थको बिक्रीवितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावली संशोधन गरेको उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।
संशोधित विनियमावलीअनुसार पेट्रोलियम पदार्थ बिक्री नगरी पम्प बन्द गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गरिनेछ। त्यस्ता पम्पलाई पाँचदेखि १५ दिनसम्म पेट्रोल र डिजेलको आपूर्ति पनि रोक्का गरिनेछ।
विक्रेता विनियमावलीको दफा २९ घ (१) मा ‘विक्रेताले नोजल सुक्खा अर्थात् ड्राइ गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ व्यवस्था थप गरिएको छ।
नयाँ व्यवस्थाअनुसार पहिलोपटक कसुर गर्ने पेट्रोलपम्पलाई तीन लाख रुपैयाँ जरिवाना गरी पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ।
दोस्रोपटक कसुर दोहोर्याएमा छ लाख रुपैयाँ जरिवाना गरी १० दिनसम्म आपूर्ति बन्द गरिनेछ।
तेस्रोपटक पनि सोही कसुर गरेमा १० लाख रुपैयाँ जरिवाना गरी १५ दिनसम्म पेट्रोलियम पदार्थको आपूर्ति रोक्ने प्रावधान राखिएको छ।





