चार पटक म्याद थप्दा पनि गुल्मी अस्पताल भवन अधुरै

ड्रागन मिडिया संवाददाता
गुल्मी
निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि गुल्मी अस्पतालको नयाँ भवनले पूर्णता पाउन सकेको छैन।
जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शय्याको अस्पताल भवन सम्पन्न गर्न चार पटकसम्म म्याद थप गरिएको छ। निर्धारित समयमा काम पूरा नहुँदा अस्पतालको सेवा विस्तार प्रभावित भएको छ भने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्नुपरेको छ।
अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले लामो समयदेखि भवन निर्माणमा भइरहेको ढिलाइका कारण दैनिक सेवा प्रवाहमा समस्या परेको बताए।
स्वच्छन्द बानियाँ जेभी, मकवानपुरले विसं २०७८ असार १८ गते अस्पतालको नयाँ भवन निर्माणको जिम्मा लिएको थियो। २५ करोड ९४ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको भवन सम्झौताअनुसार विसं २०८० असार १७ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।
सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाका सूचना अधिकारी पुष्पराज भट्टका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत पुगेको छ।
निर्धारित समयमा निर्माण पूरा नभएपछि पहिलो पटक विसं २०८० असार १८ देखि पुस १७ गतेसम्म म्याद थप गरिएको थियो।
दोस्रो पटक विसं २०८० पुस १८ देखि विसं २०८१ पुस १७ गतेसम्म, तेस्रो पटक विसं २०८१ पुस १८ देखि विसं २०८२ कात्तिक ७ गतेसम्म र चौथो पटक विसं २०८२ कात्तिक ९ देखि गत जेठ १७ गतेसम्म म्याद थप गरिएको थियो।
बाँकी काम सम्पन्न गराउन पाँचौँ पटक म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
सूचना अधिकारी भट्टका अनुसार भवनको बाहिरी संरचनालाई अन्तिम रूप दिने, ट्रान्सफर्मर र जेनेरेटर जडान गर्नेलगायत काम अझै बाँकी छन्।
उनले भने, ‘निर्माण व्यवसायीले कम जनशक्ति परिचालन गरेकाले कामले अपेक्षित गति लिन सकेको छैन। शीघ्र निर्माण सम्पन्न गर्न पटकपटक पत्राचार र ताकेता गरिरहेका छौँ।’
अस्पताल ५० शय्यामा स्तरोन्नति भइसके पनि पुरानै र साँघुरो संरचनाबाट सेवा सञ्चालन गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ।
गुल्मी अस्पतालका प्रमुख विभव बस्यालका अनुसार अस्पतालबाट दैनिक २५० जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन्। पर्याप्त परीक्षण कक्ष नहुँदा एउटै कोठाबाट विभिन्न सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए।
निर्माण कम्पनीले रङरोगन, विद्युतीय उपकरण जडान र भवनको अन्तिम सजावटसम्बन्धी काम समयमा पूरा नगर्दा सेवा प्रवाह प्रभावित भइरहेको बस्यालको भनाइ छ।
भवन अभावका कारण सघन उपचार कक्ष सञ्चालन, मिर्गौला डायलाइसिस सेवा विस्तार र अन्य विशेषज्ञ सेवा व्यवस्थापनमा समेत कठिनाइ भएको उनले बताए। बिरामी र उनीहरूका आफन्तका लागि पर्याप्त प्रतीक्षास्थलसमेत नरहेको अस्पताल प्रशासनले जनाएको छ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले नयाँ भवन शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्माण कम्पनीका प्रतिनिधिलाई पटकपटक ताकेता गरिएको बताए।
गुल्मी अस्पतालबाट गुल्मीका साथै अर्घाखाँची, बागलुङ र प्युठानका बिरामीले समेत सेवा लिँदै आएका छन्।





