अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

ड्रागन मिडिया संवाददाता
काठमाडौं
उपाधिको बलियो दाबेदार स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
शुक्रबार बिहान अमेरिकाको लस एन्जल्समा भएको अन्तिम ३२ को खेलमा स्पेनले अस्ट्रियालाई ३–० गोलले पराजित गरेको हो।
स्पेनलाई जित दिलाउन मिकेल ओयरजाबलले दुई तथा पेड्रो पोरोले एक गोल गरे।
खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको स्पेनले अस्ट्रियाको रक्षात्मक रणनीतिमाथि निरन्तर दबाब बनाएको थियो। स्पेनले ३६औँ मिनेटमा ओयरजाबलको गोलबाट अग्रता लियो। उनले मार्क कुकुरेलाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
खेलको ६६औँ मिनेटमा पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। व्यक्तिगत कौशल प्रदर्शन गर्दै निकालिएको उत्कृष्ट क्रसमा ओभरल्याप गर्दै अगाडि बढेका पोरोले बललाई जाली चुमाएका थिए।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा ओयरजाबलले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३–० को सहज जित दिलाए। उनले कुकुरेलाकै सुन्दर पासमा गोल गरेका थिए।
स्पेनले सन् १९९४ मा अमेरिकामै आयोजित विश्वकपको नकआउट चरणमा स्विट्जरल्यान्डलाई ३–० ले पराजित गरेयता पहिलो पटक नकआउट खेलमा तीन गोल गरेको हो।
त्यस्तै, सन् २०१० मा विश्वकपको उपाधि जितेयता स्पेनले पहिलो पटक विश्वकपको नकआउट चरणमा जित हासिल गरेको छ।
प्रतियोगितामा हालसम्म कुनै गोल नखाएको स्पेनले क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।





