१९ असार २०८३, शुक्रबार

वर्षकै पहिलो आँधी ‘मेसाक’ हाइनानमा प्रवेश गर्ने पूर्वानुमान

हाइखोउ, यस वर्षको दसौँ उष्णकटिबन्धीय आँधी ‘मेसाक’ शुक्रबार अपराह्न दक्षिण चीनको हाइनान प्रान्तमा प्रवेश गर्ने पूर्वानुमानसँगै प्रान्तीय अधिकारीहरूले चेतावनीस्तर बढाउँदै रेल तथा समुद्री यातायात बन्द गरेका छन्।

हाइनान प्रान्तीय मौसम सेवाले शुक्रबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार मेसाक सान्या र लिङसुईबीचको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। हाइनानमा प्रवेश गरेमा यो सन् २०२६ मा चीनको भूभागमा प्रभाव पार्ने पहिलो आँधी बन्नेछ।

उष्णकटिबन्धीय चक्रवात थप शक्तिशाली बन्दै गएपछि प्रान्तीय मौसम सेवाले शुक्रबार बिहान ६ः३० बजे आँधीसम्बन्धी चौथो तहको चेतावनीलाई तेस्रो तहमा स्तरोन्नति गरेको छ।

शुक्रबार बिहान ५ बजे आँधीको केन्द्र लिङसुई काउन्टीबाट करिब १५५ किलोमिटर दक्षिणपूर्वमा रहेको थियो। त्यस क्षेत्रमा केन्द्रनजिकको अधिकतम हावाको गति प्रतिघण्टा करिब ६५ किलोमिटर अर्थात् प्रतिसेकेन्ड १८ मिटर मापन गरिएको थियो। आँधी प्रतिघण्टा १० देखि १५ किलोमिटरको गतिमा उत्तरपश्चिमतर्फ अघि बढ्दै थप शक्तिशाली बनिरहेको मौसम सेवाले जनाएको छ। हङकङ वेधशालाले पनि मेसाक उत्तरपश्चिमतर्फ हाइनानको दिशामा अघि बढिरहेको जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै हाइनानभर यातायात सञ्चालनमा व्यापक रोक लगाइएको छ। शुक्रबार र शनिबार टापु प्रवेश गर्ने तथा बाहिरिने रेल सेवा स्थगित गरिएको छ। हाइनानको गोलाकार उच्चगति रेलमार्ग र अन्य स्थानीय रेल सेवासमेत शुक्रबार बन्द गरिएका छन्।

हाइनान र मुख्यभूमि चीनलाई जोड्ने च्योङचौ जलडमरूमध्यमा सञ्चालित यात्रु तथा सवारीसाधन बोक्ने रो–रो पानीजहाज सेवा शुक्रबार बिहान २ बजेदेखि बन्द गरिएको छ। मौसमको वास्तविक अवस्थाका आधारमा उक्त सेवा एकदेखि दुई दिनसम्म प्रभावित हुन सक्ने अधिकारीहरूले बताएका छन्।

आँधीका कारण शुक्रबार र शनिबार हाइनानका अधिकांश क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ। प्रान्तका ११ सहर तथा काउन्टीमा कुल १५० देखि २५० मिलिमिटरसम्म वर्षा हुन सक्ने र केही स्थानमा ३५० मिलिमिटरभन्दा बढी अत्यधिक वर्षा हुन सक्ने मौसम सेवाको पूर्वानुमान छ। हाइनानसहित दक्षिण चीनका विभिन्न क्षेत्रमा मेसाकका कारण तीव्र हावा र मुसलधारे वर्षाको जोखिम रहेको छ।

प्रान्तीय मौसम अधिकारीहरूले समुद्रमा रहेका तेल तथा ग्यास प्लेटफर्म, माछा मार्ने डुङ्गा र अन्य जहाजलाई तत्काल सुरक्षित स्थानमा फर्कन आग्रह गरेका छन्। स्थानीय सरकारलाई माछा मार्ने जलयान, तटीय क्षेत्र तथा पहाडी पर्यटकीय स्थलमा सुरक्षा व्यवस्थापन कडा बनाउन निर्देशन दिइएको छ।

समुद्रमा तीव्र हावा, अग्ला छाल र स्थल क्षेत्रमा भारी वर्षाका कारण बाढी, पहिरो तथा यातायात अवरोधको जोखिम रहेकाले सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना पालना गर्न र अनावश्यक यात्राबाट जोगिन आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button