१९ असार २०८३, शुक्रबार

हरित विकास र व्यापारिक सहकार्य विस्तार गर्न चीन–डेनमार्क सहमत

कोपेनहेगन, चीन र डेनमार्कले व्यापार तथा लगानी विस्तार गर्दै वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन, हरित पानीजहाज सञ्चालन र स्वास्थ्य सेवाका क्षेत्रमा व्यावहारिक सहकार्य गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

डेनमार्कको राजधानी कोपेनहेगनमा बिहीबार चिनियाँ विदेशमन्त्री वाङ यी र डेनिस विदेशमन्त्री लार्स ल्योके रास्मुसेनबीच भएको वार्तामा दुई देशबीच सञ्चालित हरित संयुक्त कार्ययोजनाको नयाँ संस्करणबारे छलफल प्रारम्भ गर्ने सहमति भएको हो। वाङ चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत हुन्।

चीन र डेनमार्कबीच लामो समयदेखि मैत्रीपूर्ण आदानप्रदान हुँदै आएको उल्लेख गर्दै वाङले द्विपक्षीय सम्बन्धमा डेनमार्कले विभिन्न ऐतिहासिक पहल गरेको बताए। डेनमार्क चीनसँग व्यापक रणनीतिक साझेदारी स्थापना गर्ने पहिलो नर्डिक देश तथा हरित रूपान्तरण सहयोग संयन्त्र विकास गर्ने पहिलो मुलुक हो।

डेनमार्ककी तत्कालीन महारानी मार्ग्रेथे द्वितीय चीनले सुधार र खुलापनको नीति अपनाएपछि चीन भ्रमण गर्ने पहिलो पश्चिमी राष्ट्रप्रमुख भएको पनि वाङले स्मरण गरे।

चीन र डेनमार्कले सन् २०२५ मा कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव मनाएका थिए। वाङले दुई देशका राष्ट्रप्रमुखबीच भएका महत्त्वपूर्ण सहमति कार्यान्वयन गर्दै उच्चस्तरीय सम्पर्क कायम राख्न र सरकारी निकाय तथा विभिन्न क्षेत्रमा संवाद विस्तार गर्न चीन तयार रहेको बताए। दुई देशले सन् २०२३ देखि २०२६ सम्मका लागि हरित संयुक्त कार्ययोजना सञ्चालन गर्दै आएका छन्।

एसियामा डेनमार्कको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा रहेको चीनले शिक्षा, संस्कृति, पर्यटन, युवा र खेलकुदका क्षेत्रमा पनि आदानप्रदान विस्तार गर्न चाहेको वाङको भनाइ थियो। त्यस्ता कार्यक्रमले दुई देशका जनताबीच पारस्परिक समझदारी र मित्रता बढाउँदै व्यापक रणनीतिक साझेदारीलाई थप समृद्ध बनाउने उनले बताए।

वाङले डेनिस कम्पनीलाई चिनियाँ बजारमा दीर्घकालीन लगानी जारी राख्न स्वागत गर्दै डेनमार्कले चिनियाँ कम्पनीका लागि खुला, निष्पक्ष र पूर्वानुमानयोग्य व्यावसायिक वातावरण उपलब्ध गराउने अपेक्षा व्यक्त गरे।

द्विपक्षीय सम्बन्धको राजनीतिक आधार संयुक्त रूपमा संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले डेनमार्कले एक चीन सिद्धान्तप्रति जनाएको प्रतिबद्धताको प्रशंसा गरे। चीनले पनि डेनमार्कको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणलाई समर्थन गर्ने उनले बताए।

वाङका अनुसार सार्वभौमिकता र भौगोलिक अखण्डताप्रतिको पारस्परिक सम्मान संयुक्त राष्ट्रसंघीय बडापत्रका उद्देश्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने आधारभूत मान्यताअनुरूप छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य चीन र डेनमार्क दुवैले बहुपक्षवाद, अन्तर्राष्ट्रिय कानुन र विश्व मामिलामा संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकालाई समर्थन गर्ने वाङले बताए। उनले दुई देशलाई सञ्चार र समन्वय बलियो बनाउँदै न्यायपूर्ण र समतामूलक विश्व शासन प्रणाली निर्माणमा योगदान गर्न आग्रह गरे।

वाङले सबै प्रकारका एकपक्षीयता र शक्तिको दबाबको विरोध गर्दै विश्व शान्ति, स्थिरता र समृद्धिका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए।

चीन र युरोपेली सङ्घ प्रतिस्पर्धी नभई साझेदार भएको उल्लेख गर्दै उनले सहकार्य नै चीन–युरोप सम्बन्धको प्रमुख विशेषता रहनुपर्ने धारणा व्यक्त गरे। उनले युरोपेली सङ्घ र चीनबीचको सम्बन्धलाई स्वस्थ तथा स्थिर दिशामा अघि बढाउन डेनमार्कले रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गरे।

डेनिस विदेशमन्त्री रास्मुसेनले आफ्नो देश एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै चीनसँग सबै तहमा सम्पर्क कायम राख्न र खुला तथा स्पष्ट संवाद जारी राख्न चाहेको बताए।

उनले हरित संयुक्त कार्ययोजनाको नयाँ संस्करण तयार गर्ने सम्भावना खोज्दै व्यापार, अर्थतन्त्र, संस्कृति, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्न डेनमार्क तयार रहेको बताए।

डेनिस कम्पनीहरू चीनको विकास सम्भावनाप्रति विश्वस्त रहेको र चिनियाँ बजारमा दीर्घकालीन रूपमा आफ्नो उपस्थिति विस्तार गर्न इच्छुक रहेको रास्मुसेनले बताए।

विश्वमा अनिश्चितता बढिरहेका बेला डेनमार्कले प्रमुख राष्ट्रका रूपमा चीनको भूमिकालाई महत्त्व दिएको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघसहितका बहुपक्षीय मञ्चमा समन्वय बलियो बनाउने प्रतिबद्धता जनाए।

रास्मुसेनले बहुपक्षवाद र स्वतन्त्र व्यापारको संरक्षण, विश्वव्यापी चुनौतीको संयुक्त सामना तथा चीन–युरोपेली सङ्घ संवाद र सहकार्य प्रवर्द्धनमा डेनमार्कले सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

वाङको डेनमार्क भ्रमण १५ वर्षपछि कुनै चिनियाँ विदेशमन्त्रीले गरेको पहिलो भ्रमण हो। उनी जुलाई २ देखि ८ सम्म डेनमार्क, स्विडेन, फिनल्यान्ड र नर्वेको भ्रमणमा छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button