१९ असार २०८३, शुक्रबार

अपराजित काबो भेर्देविरुद्ध अर्जेन्टिना सतर्क

मियामी, साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको अन्तिम ३२ मा प्रतियोगिताको नवप्रवेशी तथा अपराजित टोली काबो भेर्देको सामना गर्दा पूर्ण सतर्कता अपनाउने प्रशिक्षक लियोनेल स्कालोनीले बताएका छन्।

अर्जेन्टिना र काबो भेर्देबीचको खेल शुक्रबार स्थानीय समयअनुसार साँझ ६ बजे अमेरिकाको मियामी रङ्गशालामा सुरु हुनेछ। समूह ‘जे’को विजेता अर्जेन्टिना र समूह ‘एच’को उपविजेता काबो भेर्देबीच हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय भेट हो।

समूह चरणका तीनवटै खेल जितेको अर्जेन्टिनाले आठ गोल गर्दा एक गोलमात्र बेहोरेको थियो। विश्वकपमा पहिलोपटक सहभागी काबो भेर्देले भने स्पेनसँग गोलरहित, उरुग्वेसँग २–२ र साउदी अरबियासँग गोलरहित बराबरी खेल्दै अपराजित रूपमा नकआउट चरणमा स्थान बनाएको हो। काबो भेर्दे समूह ‘एच’को उपविजेता बन्दै अर्जेन्टिनासँगको भेट सुनिश्चित गरेको थियो।

खेलअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले अर्जेन्टिना उत्साहित भए पनि विपक्षी टोलीको प्रदर्शन र क्षमतालाई पूर्ण सम्मान गर्नुपर्ने बताए।

“हामी अरू सबैजस्तै उत्साहित छौँ, तर हामीले सामना गर्नुपर्ने विपक्षीलाई सम्मान गर्नुपर्छ। उनीहरूले प्रतियोगितामा निकै राम्रो प्रदर्शन गरेका छन्,” स्कालोनीले भने।

नकआउट चरण सुरु भएसँगै टोलीहरूबीचको अन्तर साँघुरिँदै गएको उल्लेख गर्दै उनले काबो भेर्देविरुद्धको खेल सहज नहुने स्पष्ट पारे।

स्कालोनीले काबो भेर्देको सङ्गठित रक्षापङ्क्ति र तीव्र प्रत्याक्रमण अर्जेन्टिनाका लागि मुख्य चुनौती हुने बताए। उनका अनुसार अफ्रिकी टोलीले मैदानको मध्यभागबाट हुने पास प्रभावकारी रूपमा रोक्ने र बल प्राप्त गरेपछि तीव्र गतिमा आक्रमण निर्माण गर्ने गरेको छ।

उनले काबो भेर्दे संयोगवश नकआउट चरणमा नपुगेको उल्लेख गर्दै साउदी अरबियाविरुद्ध टोली जितको हकदार देखिएको बताए। स्पेन र उरुग्वेविरुद्ध दबाब झेले पनि काबो भेर्देले अनुशासित र प्रभावकारी रक्षात्मक प्रदर्शन गरेको उनको भनाइ थियो।

“उनीहरू अहिलेसम्म पराजित भएका छैनन्। टोलीले राम्रो फुटबल खेल्न चाहन्छ र प्रत्याक्रमणमा निकै प्रभावकारी छ। उनीहरू यहाँ संयोगले आएका होइनन्,” स्कालोनीले भने।

अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलले पनि काबो भेर्देविरुद्धको खेललाई निर्णायक फाइनलसरह लिएर मैदानमा उत्रने बताए।

“हामीले यो खेललाई ठूलो जिम्मेवारीका साथ सामना गर्नुपर्छ। अर्जेन्टिनाको राष्ट्रिय टोलीको जर्सी लगाएपछि हामी कुनै पनि प्रयास बाँकी राख्नेछैनौँ,” डी पाउलले भने।

उनले प्रत्येक नकआउट खेललाई प्रतियोगिताको अन्तिम खेलका रूपमा लिएर आफ्नो सम्पूर्ण क्षमता प्रस्तुत गर्ने बताए। अर्जेन्टिनाले काबो भेर्देलाई पराजित गरेमा अन्तिम १६ मा प्रवेश गर्नेछ।

मियामीको उच्च तापक्रम र आर्द्रताले दुवै टोलीलाई थप चुनौती दिने अनुमान गरिएको छ। खेल सुरु हुँदा तापक्रम करिब ३० डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

राति खेल्न पाएको भए खेलाडीका लागि सहज हुने स्वीकार गर्दै स्कालोनीले मौसमको अवस्था दुवै टोलीका लागि समान रहने बताए। अर्जेन्टिना प्रतियोगिताको प्रमुख दाबेदारका रूपमा मैदानमा उत्रिँदै गर्दा काबो भेर्देले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै विश्वकप इतिहासमा अर्को अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button