१९ असार २०८३, शुक्रबार

डुप्लान्टिससहित खेल हस्तीलाई फेयर प्ले सम्मान

रोम, पोलभल्टका विश्व कीर्तिमानधारी आर्मान्ड डुप्लान्टिस र सन् २०२६ को शीतकालीन ओलम्पिकमा स्वर्ण पदक जितेको इटालीको पुरुष स्पिड स्केटिङ टोलीसहित विभिन्न खेलका प्रतिष्ठित व्यक्तित्वहरू ३०औँ फेयर प्ले मेनारिनी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।

इटालीको फ्लोरेन्सस्थित टियाट्रो डेल माज्जो म्युजिकल फियोरेन्टिनोमा बिहीबार साँझ आयोजित समारोहमा खेल उपलब्धिसँगै सम्मान, इमानदारी, निष्पक्षता र टोली भावनाको उदाहरण प्रस्तुत गरेका खेलाडी तथा खेलकर्मीलाई पुरस्कार प्रदान गरिएको हो। सन् २०२६ को पुरस्कार समारोहले फेयर प्ले मेनारिनी सम्मान स्थापनाको ३० वर्षसमेत पूरा गरेको छ।

स्विडेनका २६ वर्षीय डुप्लान्टिसले यस वर्षको ‘लेजन्डरी फिगर’ सम्मान प्राप्त गरे। ओलम्पिक तथा विश्व च्याम्पियन डुप्लान्टिसले खेल जीवनमा अनुभव गरेको निष्पक्ष खेल भावनाको स्मरण गर्दै सन् २०२१ मा बेलायतको गेट्सहेडमा आयोजित डायमन्ड लिग प्रतियोगिताको प्रसङ्ग सुनाए।

वर्षाका कारण पोलभल्ट खेलाडीको समात्ने भाग भिज्ने अवस्था आएपछि डुप्लान्टिसले अमेरिकी खेलाडी साम केन्ड्रिक्सका लागि छाता समातेर सहयोग गरेका थिए। केन्ड्रिक्सले पनि उनलाई त्यसरी नै सहयोग गरेका थिए। उक्त प्रतियोगितामा केन्ड्रिक्सले डुप्लान्टिसलाई पराजित गरे पनि दुवै खेलाडीबीचको पारस्परिक सम्मान र सहयोग खेलकुदको निष्पक्ष भावनाको उदाहरण बनेको थियो।

डुप्लान्टिसले गत मार्च १२ मा स्विडेनको उप्सालामा ६.३१ मिटर उचाइ पार गर्दै आफ्नै पोलभल्ट विश्व कीर्तिमान एक सेन्टिमिटरले सुधार गरेका थिए। सन् २०२० मा पहिलोपटक विश्व कीर्तिमान कायम गरेयता उनले कीर्तिमान सुधार गरेको यो १५औँ अवसर थियो।

पुरस्कार ग्रहण गरेपछि उनले आफ्नो प्रदर्शन अझ सुधार गर्ने लक्ष्य कायम रहेको बताए। आगामी प्रमुख लक्ष्य ६.४० मिटर उचाइ पार गर्नु रहेको उल्लेख गर्दै उनले क्रमशः उत्कृष्ट प्रदर्शनतर्फ अघि बढ्ने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

मिलान–कोर्टिना शीतकालीन ओलम्पिकमा पुरुष टोलीगत स्पिड स्केटिङको स्वर्ण पदक जितेका डाभिदे घियोट्टो, आन्द्रेया जियोभान्नीनी र मिकेले मालफाट्टीले संयुक्त रूपमा ‘फेयर प्ले एन्ड टिम स्पिरिट’ सम्मान प्राप्त गरे।

तीन सदस्यीय टोलीले अमेरिकालाई पराजित गर्दै पुरुष टिम पर्सुटमा इटालीलाई २० वर्षपछि पुनः ओलम्पिक स्वर्ण पदक दिलाएको थियो। इटालीले यसअघि घरेलु भूमिमा आयोजित सन् २००६ को टुरिन शीतकालीन ओलम्पिकमा उक्त विधाको उपाधि जितेको थियो। मिलान–कोर्टिना ओलम्पिकमा इटालीको टोलीले तीन मिनेट ३९.२० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेको थियो।

जियोभान्नीनीले केही वर्षअघि एउटा प्रतियोगिता सुरु हुनुअघि विपक्षी खेलाडीको जुत्ताको तुना चुँडिएको र अतिरिक्त तुना नभेटिएपछि आफूले सहयोग गरेको प्रसङ्ग सुनाए। उनको सहयोगपछि ती खेलाडी प्रतियोगितामा सहभागी हुन सफल भएका थिए।

उनले खेलाडीको वास्तविक मूल्याङ्कन नतिजाबाट मात्र नभई खेल मैदानमा उसले देखाउने व्यवहारबाट समेत हुने बताए। खेलमा प्रतिस्पर्धा आवश्यक भए पनि विपक्षीप्रतिको सम्मान, सहयोग र नैतिक आचरण आधारभूत मूल्य भएको उनको धारणा थियो।

यस वर्ष पुरस्कार प्राप्त गर्ने अन्य खेल हस्तीमा अर्जेन्टिनाका पूर्वफुटबलर डिएगो मिलितो, इटालीका पूर्वफुटबलर जियानफ्रान्को जोला, स्पेनका पूर्वफुटबलर एमिलियो बुट्रागेन्यो, इटालीकी पारा अल्पाइन स्की खेलाडी कियारा मात्सेल र पौडी खेलाडी ग्रेगोरियो पाल्ट्रिनिएरी छन्।

त्यसैगरी बास्केटबल खेलाडी अकिले पोलोनारा, रेस वाकर एन्टोनेला पाल्मिसानो, पारा खेलाडी बेबे भियो, फेन्सिङ खेलाडी डानिएले गारोत्सो, भलिबल खेलाडी सिमोने अन्जानी र खेल पत्रकार फाबियो कारेस्सालाई पनि सम्मान गरिएको थियो।

फेयर प्ले मेनारिनी अन्तर्राष्ट्रिय पुरस्कारले खेल मैदान र दैनिक जीवनमा सम्मान, समावेशिता, जिम्मेवारी, निष्पक्षता र टोली भावनालाई व्यवहारमा उतार्ने अन्तर्राष्ट्रिय खेल व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button