विश्व कम्पनीका लागि नयाँ मूल्य सिर्जनाको केन्द्र बन्दै हङकङ

हङकङ, विश्वव्यापी वित्तीय केन्द्रका रूपमा स्थापित हङकङले नवप्रवर्तन, प्रविधिको व्यावसायिक प्रयोग, क्षेत्रीय उत्पादन सञ्जाल र अन्तर्राष्ट्रिय बजारमा पहुँच उपलब्ध गराउँदै विश्वका कम्पनीका लागि आफ्नो आर्थिक महत्त्व विस्तार गरिरहेको विश्लेषक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्।
स्विट्जरल्यान्डस्थित इन्टरनेसनल इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्टले सार्वजनिक गरेको सन् २०२६ को विश्व प्रतिस्पर्धात्मकता सूचीमा हङकङ विश्वको दोस्रो प्रतिस्पर्धी अर्थतन्त्र बनेको छ।
चाइना इन्टरनेसनल क्यापिटल कर्पोरेसनका अध्यक्ष वाङ शुक्वाङका अनुसार हङकङ वित्तीय स्रोत जुटाउने केन्द्रमा मात्र सीमित छैन। नयाँ व्यवसाय परीक्षण गर्न, अनुसन्धानबाट विकसित प्रविधिको औद्योगिक उपयोग खोज्न र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न चाहने कम्पनीका लागि पनि यो महत्त्वपूर्ण आधार बनेको छ।
हङकङ ग्वाङ्दोङ–हङकङ–मकाउ ग्रेटर बे एरियाको हिस्सा भएकाले यसको समग्र प्रतिस्पर्धात्मक क्षमतामा क्षेत्रीय उत्पादन सञ्जालले थप सहयोग पुर्याएको विश्लेषकहरूको भनाइ छ।
ग्रेटर बे एरियामा नयाँ ऊर्जा सवारीसाधन, उन्नत उपकरण तथा अन्य प्रविधिमूलक उद्योगका पूर्ण आपूर्ति शृङ्खला उपलब्ध छन्। यस क्षेत्रमा ठूलो सङ्ख्यामा इन्जिनियर, औद्योगिक जमिन र उत्पादन क्षमता पनि उपलब्ध रहेको वाङले बताए।
उनका अनुसार हङकङका विश्वस्तरीय विश्वविद्यालय र प्रयोगशालामा विकास भएका नयाँ प्रविधिलाई ग्रेटर बे एरियाका उत्पादन केन्द्र र बजारसँग जोडेर छोटो समयमा व्यावसायिक प्रयोगमा ल्याउन सकिन्छ।
गुओताई जुनान इन्टरनेसनलका प्रमुख अर्थशास्त्री झोउ हाओका अनुसार अन्तर्राष्ट्रिय कम्पनीले हङकङमा आफ्नो कार्यालय वा क्षेत्रीय मुख्यालय स्थापना गरी यहाँको विवाद समाधान संयन्त्र, कर सुविधा, वित्तीय प्रणाली र व्यावसायिक सेवा प्रयोग गर्न सक्छन्।
त्यस्ता कम्पनीले उत्पादन तथा अन्य औद्योगिक संरचना ग्रेटर बे एरियाका अन्य सहरमा सञ्चालन गर्न सक्ने भएकाले हङकङले अन्तर्राष्ट्रिय व्यवस्थापन र क्षेत्रीय उत्पादनबीचको सम्पर्क केन्द्रका रूपमा काम गर्न सक्छ।
डेनमार्कको ढुवानी तथा आपूर्ति शृङ्खला कम्पनी डीएसभीले हङकङमा करिब ३० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीले पछिल्लो समय आफ्नो कारोबार र कार्यालय क्षेत्रसमेत विस्तार गरेको छ।
कम्पनीकी एसिया प्रशान्त क्षेत्रीय दिगोपन निर्देशक निना बार्टनका अनुसार स्वतन्त्र बन्दरगाहको हैसियत, एसिया प्रशान्त क्षेत्रको रणनीतिक अवस्थिति, न्यून कर र व्यवसाय सञ्चालनको सहजताले हङकङलाई क्षेत्रीय गतिविधिका लागि उपयुक्त बनाएको छ।
डीएसभीले वातावरणमैत्री प्रविधि परीक्षण गर्न हङकङ साइन्स पार्कसँग सहकार्य गरिरहेको छ। हङकङमा सफलतापूर्वक परीक्षण गरिएका प्रविधिलाई पछि एसिया प्रशान्त क्षेत्रका अन्य बजारमा प्रयोग गर्ने कम्पनीको योजना छ।
बार्टनले ग्रेटर बे एरियामा दिगो हवाई इन्धनको उत्पादन विस्तार गर्न सकिए त्यसले उड्डयन क्षेत्रको हरित रूपान्तरणमा महत्त्वपूर्ण सहयोग पुर्याउन सक्ने बताइन्।
जैविक प्रविधि र चिकित्सा क्षेत्रका कम्पनीले पनि हङकङ र ग्रेटर बे एरियालाई अनुसन्धान, चिकित्सकीय परीक्षण र व्यावसायिक उत्पादनबीच जोड्ने आधारका रूपमा प्रयोग गर्न थालेका छन्।
स्विस जैविक प्रविधि कम्पनी क्वान्ट बायोमार्कर्सले हङकङ–सेन्जेन नवप्रवर्तन तथा प्रविधि पार्कमा आफ्नो एसियाली मुख्यालय स्थापना गरेको छ।
कम्पनीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी सान्या बाउमान–टोमोभ्स्काका अनुसार कम्पनीले हङकङमा प्रयोगशाला स्थापना गरी हङकङ विश्वविद्यालयसँग सहकार्य गर्ने योजना बनाएको छ।
कम्पनीले अनुसन्धान र प्रारम्भिक परीक्षण हङकङमा तथा ठूलो परिमाणको उत्पादन ग्रेटर बे एरियाका अन्य क्षेत्रमा गर्ने लक्ष्य राखेको छ। यसबाट करिब आठ करोड ८० लाख जनसङ्ख्या रहेको क्षेत्रीय बजारमा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
हङकङ सरकारको लगानी प्रवर्द्धन निकाय इन्भेस्ट हङकङका अनुसार सन् २०२६ को पहिलो छ महिनामा ४१३ विश्वव्यापी कम्पनीले हङकङमा नयाँ व्यवसाय स्थापना गरेका वा आफ्नो विद्यमान कारोबार विस्तार गरेका छन्।
यो संख्या अघिल्लो वर्षको समान अवधिको तुलनामा १० प्रतिशत बढी हो।
ती कम्पनीले ५३ अर्ब हङकङ डलरभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र आठ हजार ६०० भन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ।
विश्लेषकहरूका अनुसार वित्तीय सेवा, कानुनी सुरक्षा, सरल कर प्रणाली, अनुसन्धान क्षमता, प्रविधि परीक्षण र ग्रेटर बे एरियाको उत्पादन सञ्जालबीचको संयोजनले हङकङलाई लगानीको गन्तव्य मात्र नभई नयाँ प्रविधि र व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने केन्द्रका रूपमा स्थापित गरिरहेको छ।





