बर्डफ्लु प्रभावित किसानको क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं, सरकारले बर्डफ्लु नियन्त्रणका क्रममा पन्छी, अण्डा तथा दाना नष्ट गरिएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लाका प्रभावित किसानलाई राहत वितरण गर्न रकमान्तरमार्फत उक्त रकम विभागलाई उपलब्ध गराएको हो।
पशुसेवा विभागले बर्डफ्लुका कारण आर्थिक क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति दिन आवश्यक बजेट माग गरेको थियो।
विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार किसानले सम्बन्धित निकायबाट प्रमाणित भएको क्षतिको मूल्याङ्कनका आधारमा ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्राप्त गर्नेछन्।
विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।
संक्रमण नियन्त्रणका क्रममा ती जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको थियो। यसबाट किसान तथा पन्छीपालन व्यवसायीले करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरेको विभागको अनुमान छ।
प्रचलित बर्डफ्लु रोग नियन्त्रणसम्बन्धी व्यवस्थाअनुसार संक्रमण नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ र उत्पादन सामग्रीको प्रमाणित मूल्यका आधारमा सम्बन्धित धनीलाई क्षतिको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउन सकिन्छ।
क्षतिपूर्ति वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्राविधिक निकायले नष्ट गरिएका पन्छी, अण्डा, दाना तथा अन्य सामग्रीको विवरण सङ्कलन र मूल्याङ्कन गर्नेछन्।
विभागका अनुसार गत चैतमा पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्डफ्लु संक्रमण क्रमशः ११ जिल्लामा पुष्टि भएको हो।
भाइरसको स्वरूप परिवर्तन हुन सक्ने र अन्य पन्छी तथा मानिसमा समेत संक्रमणको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका पन्छी र पन्छीजन्य सामग्री नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताए।
संक्रमण नियन्त्रण र सम्बन्धित निकायबीच समन्वय गर्न पशुसेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ।
विभागले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी प्रभावित क्षेत्रमा प्राविधिक तथा द्रुत प्रतिकार्य टोली परिचालन गर्नुका साथै रोग निगरानी, नमुना परीक्षण र संक्रमण नियन्त्रणको काम जारी राखेको जनाएको छ।





