संवैधानिक निकायका रिक्त पदमा सिफारिस गर्न आज परिषद बैठकसंवैधानिक निकायका रिक्त पदमा सिफारिस गर्न आज परिषद बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज परिषद्को बैठक बस्दै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ५ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गर्ने विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन्।
प्राप्त विवरणअनुसार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीका पद रिक्त छन्। राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्य तथा मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक आयुक्तको पद खाली छ।
त्यसैगरी थारू आयोगमा अध्यक्षसहित दुई, मधेसी आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र राष्ट्रिय महिला आयोगमा एक सदस्य पद रिक्त रहेको जनाइएको छ।
संवैधानिक परिषदले संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्नेछ। परिषदको सिफारिसपछि प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ हुने संवैधानिक व्यवस्था छ।





